नेपाली कांग्रेसका सभापति गगन थापाले जेठ १५ गतेसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् ।
सुनसरीको लौकहीमा आज आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताएका छन् । वैशाख २२ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतस् विघटन भएका थिए ।
केन्द्रीय कार्यसमितिहरू स्वतस् विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् । जसमध्ये नेपाल महिला संघले मात्रै नयाँ नेतृत्व पाएको छ । सभापति थापाले २५ वैशाखमा चितवनकी मीनाकुमारी खरेललाई अध्यक्ष मनोनीत गरेका थिए ।


















