अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई निर्देशन दिएका छन् । यसअघि इरानसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका ट्रम्पको पछिल्लो भनाइले वार्ता अझै केही समय तन्किने देखाएको छ ।अहिले छलफलमा रहेको प्रस्तावित सम्झौतामा ६० दिनको युद्धविराम थप गर्ने, हर्मुजमार्ग पुनः सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने योजना समावेश रहेको बताइएको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले वार्ता ‘सकारात्मक’ रूपमा अघि बढिरहेको भए पनि “दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही निष्कर्षमा पुर्याउनुपर्ने” उल्लेख गरेका छन् । शनिबार मात्रै ट्रम्पले सम्झौताका धेरैजसो विषयमा “सहमति जुटिसकेको” बताएका थिए, जसका कारण चाँडै नै औपचारिक घोषणा हुने अनुमान गरिएको थियो ।


















