काठमाडौं, जेठ ११ — राष्ट्रिय प्रजातन्त्र पार्टी ,राप्रपाका निर्वाचित केन्द्रीय सदस्य लालध्वज लामाले पार्टीका सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन्।
दुई दशकभन्दा बढी समयदेखि पार्टीमा सक्रिय रहँदै आएका लामाले मंगलबार विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा पार्टी मूल एजेण्डाबाट विचलित भई व्यक्तिवादी तथा स्वार्थप्रेरित गतिविधितर्फ उन्मुख भएको आरोप लगाएका छन्।
उनले २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनले उठाएका मुद्दालाई र जनभावनालाई पार्टीले समुचित रूपमा सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। लामाले पार्टीभित्र सिर्जना भएको असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायसँग क्षमायाचना गरेका छन्।
विज्ञप्तिमा उनले लामो समयसम्म सहकार्य गरेका साथीभाइ तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिबाट लागू हुने गरी केन्द्रीय सदस्य पदसहित पार्टीको साधारण सदस्यबाट समेत अलग भएको घोषणा गरेका छन्। लालध्वज लामा रामेछाप जिल्लाका हुन ।


















