अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । यस महिनामा भगवान नारायणको पूजा, कथा–माहात्म्य श्रवण तथा दान गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार यसरी पूजा–आराधना गर्दा पाप नष्ट हुने विश्वास गरिन्छ । अधिकमासमा विवाह, व्रतबन्ध लगायतका शुभकार्य तथा साइतहरू सामान्यतया गरिँदैनन् । त्यसैले महिनाभर यस्ता कार्य स्थगित गरिन्छन् । तर दैनिक रूपमा गरिँदै आएका नित्य पूजा, पाठ तथा धार्मिक कर्महरूमा कुनै रोक हुँदैन ।
वैदिक परम्पराअनुसार नेपालको इतिहासमा छैटौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्मका अभिलेखहरूमा आषाढ र पौष महिनामा मात्र अधिकमास पर्ने उल्लेख पाइन्छ । पछि तेह्रौँ शताब्दीमा रचित सिद्धान्तशिरोमणि लगायतका ज्योतिष ग्रन्थहरूमा अन्य महिनामा पनि अधिकमास पर्ने कुरा उल्लेख गरिएको पाइन्छ ।
पुराना ग्रन्थहरूमा विवाहपछिको पहिलो वर्षमा केही महिनामा बसाइँ गर्दा विभिन्न अशुभ परिणाम हुने जनविश्वास उल्लेख गरिएको छ । उदाहरणका लागि पहिलो आषाढमा बस्दा सासूलाई पीडा, पहिलो अधिकमासमा बस्दा पतिलाई पीडा हुने जस्ता मान्यताहरू मुहूर्तमार्तण्ड र मुहूर्तचिन्तामणि जस्ता ग्रन्थहरूमा पाइन्छन् । यद्यपि वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस्ता कुराहरू स्पष्ट रूपमा प्रतिपादित देखिँदैनन् ।
सामान्यतया एक वर्षमा ३६५ दिन वा १२ महिना हुन्छन् । सूर्यको गतिअनुसार गणना गरिने महिनालाई सौरमास भनिन्छ भने चन्द्रमाको गतिअनुसार गणना गरिने महिनालाई चान्द्रमास भनिन्छ । सौरमासमा २९ देखि ३२ दिनसम्मको अवधि हुन सक्छ भने चान्द्रमास २९ दिन १२ घण्टा ४४ मिनेट २४ सेकेन्डको हुन्छ ।
सौर गणनाअनुसार वर्षमा ३६५ दिन हुन्छन् भने चान्द्र गणनाअनुसार ३५४ दिन मात्र हुन्छन् । यसरी प्रत्येक वर्ष करिब ११ दिनको अन्तर पर्छ । यही अन्तरलाई मिलाउन ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटपछि एक अधिकमास आउने गर्दछ । यसरी तीन वर्षको अवधिमा एक अतिरिक्त महिना थपिन पुग्छ ।
ज्योतिषशास्त्रअनुसार जुन चान्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन, त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै एउटै चान्द्रमासभित्र दुई वटा सूर्य संक्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिनपछि आउने भए पनि क्षयमास भने १९ देखि ४१ वर्षको अन्तरमा मात्र एकपटक आउँछ ।
सौरमास सूर्य–चन्द्रमाको गतिमा आधारित हुन्छ भने चान्द्रमास तिथिमा आधारित हुने भएकाले यसको गति स्थिर हुँदैन । यही कारणले अधिकमास जुनसुकै महिनामा पनि पर्न सक्छ । शास्त्रीय प्रमाण “सर्वेषु मासेष्वधिमासकः स्यात्” ले पनि अधिकमास कुनै पनि महिनामा पर्न सक्ने बताउँछ ।
त्यसैले मलमास वा अधिकमासलाई डरलाग्दो वा अत्यन्त अशुभ समयका रूपमा लिनु उचित हुँदैन । यो त वर्षको समय मिलान गर्न प्रयोग हुने वैदिक गणनाको एक पद्धति मात्र हो । पाश्चात्य परम्परामा ‘लिप इयर’ प्रयोग गरेर वर्ष मिलाइएजस्तै हाम्रो परम्परामा अधिकमास र क्षयमासको व्यवस्था गरिएको हो ।
समाजमा अधिकमासमा जन्म वा मृत्यु भए त्यसलाई राम्रो नमान्ने चलन पनि पाइन्छ । तर जन्म र मृत्यु प्राकृतिक प्रक्रिया हुन् । अधिकमासमा जन्म वा मृत्यु भएको खण्डमा वार्षिक तिथि निर्धारणमा केही विशेष गणना गर्नुपर्ने भएकाले यस्तो मान्यता बसेको हो ।
शास्त्रीय मान्यताअनुसार अधिकमासमा जन्म वा मृत्यु भए अधिक पक्षको जुन तिथि पर्छ, शुद्ध पक्षको सोही तिथि कायम गरिन्छ । क्षयमासका सन्दर्भमा भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । तिथिको पूर्वार्ध वा उत्तरार्धअनुसार जन्म वा मृत्यु तिथि निर्धारण गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।


















