आगामी आर्थिक वर्षको बजेट आज अपराह्न ४ बजे सार्वजनिक हुने ।

 

काठमाडौँ । आज जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । अपराह्न ४ बजे बस्ने राष्ट्रिय तथा प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेट करिब २२ खर्वको हुने बुझिएको छ ।
बजेट जेठ १५ गते नै ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार नै बजेट ल्याउन लागिएको छ ।
बजेट प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहनेछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो ।
यसपालीको बजेटले मध्यमवर्गलाई प्राथमिकतामा राखेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार कर्णाली लगायतका प्रदेशका योजनालाई सरकारले बजेटमा प्राथमिकतामा राखेको छ ।
सरकारले प्रशासनिक सुधारका क्रममा स्वेच्छिक अवकाश रोज्न चाहने कर्मचारीहरूका लागि बजेटमा अतिरिक्त रकमको व्यवस्था गरेको छ। यस्तो रकम हाललाई अर्थमन्त्रालय अन्तर्गत अर्थ विविध शीर्षकमा राखिने बताइएको छ।
सरकारले चालू आर्थिक वर्षदेखि नै प्रशासनिक खर्च कटौती गर्ने र संरचना छरितो बनाउने कदम चालेको छ। यसअघि मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ। संघीय सरकार मातहतका विभिन्न कार्यालयहरू पनि कटौती गर्ने तयारी भइरहेको छ।