अमेरिकामा कच्चा तेल, पेट्रोल र डिजेलको भण्डार तीव्र रूपमा घट्दै गएको छ । इरानसँगको युद्ध लम्बिँदै जाँदा रणनीतिक भण्डारणमा राखिएको तेलमाथिको निर्भरता बढेको अमेरिकी तथ्याङ्कले देखाएको हो । मेमोरियल डे सप्ताहन्तअघि मात्र अमेरिकाको व्यावसायिक तथा आपत्कालीन भण्डारणमा रहेको कच्चा तेल र ऊर्जा उत्पादन १ करोड ७४ लाख ब्यारेलले घटेको छ ।
यससँगै मौसमी हिसाबले अमेरिकी तेल भण्डार सन २००३ पछिकै सबैभन्दा न्यून स्तरमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक पेट्रोलियम भण्डार एसपीआरबाट पनि लगातार तेल निकालिरहेको छ ।
पछिल्लो एक सातामात्रै एसपीआरमा कच्चा तेल भन्डार ९१ लाख ब्यारेलले घटेको छ, जुन अघिल्लो साताको कीर्तिमान नजिक रहेको बताइएको छ । पछिल्ला दुई महिनामा मात्रै आपत्कालीन तेल भण्डार ५ करोड ब्यारेलले घटिसकेको छ ।



















