अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट ठूलो नभई राज्यको वास्तविक क्षमता अनुसार सन्तुलित रूपमा ल्याइएको स्पष्ट पारेका छन्।बजेटसम्बन्धी आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूले स्रोत र सीमालाई बुझेर बजेटलाई २१ खर्ब हाराहारीमा सीमित गरेको स्पष्ट पारे।
बजारमा २५ खर्बसम्मको बजेट आउने हल्ला चले पनि आफूहरूले स्रोत र सीमालाई बुझेर बजेटलाई २१ खर्ब हाराहारीमा सीमित गरेको अर्थमन्त्रीले जानकारी दिए। “यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै”, मन्त्री वाग्लेले भने, “सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो।”
उनका अनुसार यो बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २८.५ प्रतिशत मात्र हो। आगामी वर्ष जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। उनका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को २८.५ प्रतिशत मात्र हो। आगामी वर्ष जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए।
मन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा ३० प्रतिशतभन्दा माथिको बजेट आकारको प्रवृत्ति तोड्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरे। ऋणसम्बन्धी टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले सार्वजनिक ऋण बढेको तथ्य स्वीकार गरे। उनका अनुसार भूकम्पअघि ऋण–जिडिपी अनुपात करिब २५–२६ प्रतिशत रहेकोमा पुनर्निर्माण र कोभिड–१९ महामारीको अवधिमा वृद्धि भई झण्डै ४२–४३ प्रतिशतसम्म पुगेको छ।
उनले भने, “आजका मितिमा ३० प्रतिशत भन्दा माथिको ट्रेण्डलाई हामीले भत्काएर राज्यको क्षमता अनुकुल हुने गरी बजेट ल्याएका हौं। बजेट ठूलो होइन, जिडिपीको सापेक्षतामै सानो बजेट आएको छ। बजारमा ऋणको विषयमा पनि ठूलो चर्चा भएको छ। भूकम्प भन्दा अगाडि हामी २५-२६ प्रतिशतमा थियौं। पुनःनिर्माणको क्रम र कोरोनाका कारण ऋणबेस्सरी बढेकै हो। झण्डै ४२ वा ४३ प्रतिशत पुगेकै हो। त्यो भनेको धेरै वृद्धि हो।”
यसैगरी उनले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएको बताए। उनले भने, “भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो। त्यसबेला भन्दा अहिले कममै छौँ। यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ। यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ।”
अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए। अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए। अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ। ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ। त्यस्तै, उनले तलब वृद्धि २१ प्रतिशत नै भएको उनले दाबी गरे।
अर्थमन्त्रीले भने, “तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस्। झुक्क्यायो, ढाँट्यो भन्ने कुराहरू आइरहेको छ। त्यस्तो होइन, १० प्रतिशत बेसमै भएको हो बढेको बेसमा अर्को १० प्रतिशत भएको हो।’


















