संघ सरकारको नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नपाएको गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन गर्न गण्डकी सरकारले चासो दिएको छ । मंगलबार आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकीले संघ सरकारको सहकार्यमा दुवै उद्योग पुनः सञ्चालन गर्ने बताएको हो ।
‘गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग समन्वय गरिने छ,’ प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
दुबै उद्योग सञ्चालन गर्ने घोषणा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका बेला घोषणा गरेको थियो । तर, सोही अनुसार बजेट भने व्यवस्थापन गरिएको छैन । न यी कारखानाबारे संघले प्रदेशसँग कुनै समन्वय गरेको छ ।
यही उद्योग चलाउन प्रदेशले भने संघसँग सहकार्य गर्ने घोषणा गरेको हो । त्यसो त, अघिल्ला नीति तथा कार्यक्रममा समावेश भएर पनि यी उद्योग सञ्चालनको ठोस प्रयास भएको छैन ।


















