धवलशमशेर राणा र दुर्गा प्रसाईं नयाँ पार्टी बनाउने तयारीमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्न लागेका महामन्त्री धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सहकार्य हुने भएकाे छ । आगामी सहकार्यका विषयमा उनीहरूबीच आज छलफल भएको हो । महामन्त्री राणाले पार्टी त्याग गरी नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

स्रोतका अनुसार राप्रपा छोड्ने तयारीमा रहेका राणाले प्रसाईंसँग भेट गरी भावी राजनीतिक यात्रालाई सँगै अघि बढाउने विषयमा कुराकानी गरेका हुन् । भेटका क्रममा वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता तथा संगठन विस्तारका विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।

मंगलबार नयाँ पार्टी गठनलगायत विषयमा मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक प्रसाईंसँग छलफल भएको राणानिकट स्राेतले जनाएकाे छ ।

राणा र प्रसाईंबीच नयाँ राजनीतिक मोर्चा वा अभियानमार्फत सहकार्य गर्ने सम्भावनाबारे प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ । यद्यपि, यसबारे दुवै पक्षले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।