माफीको मागमा अडिग कांग्रेस, संसद र समिति दुवै बहिष्कार

नेपाली कांग्रेसले संसद् अवरोधलाई निरन्तरता दिँदै संसदीय समितिका बैठकहरू पनि बहिष्कार गर्ने निर्णय गरेको छ। दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागेसम्म पार्टीले २५ जेठसम्म कुनै पनि संसदीय समितिको बैठकमा सहभागी हुने छैन। आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले आपत्ति जनाउँदै माफी माग्नुपर्ने मागसहित सदन अवरुद्ध गर्दै आएको छ।

साथै, सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ। यही कारण अब समितिका बैठकसमेत बहिष्कार गर्ने रणनीति कांग्रेसले लिएको हो।