सुकुम्बासीलाई हामीले नि:शुल्क मिटर दियौँ, सरकारले घर भत्कायो : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी समस्या समाधानका नाममा अपनाइएको सरकारी कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

घिसिङले सुकुम्बासी समस्या सम्बोधन गर्ने क्रममा अपनाइएको दृष्टिकोण मानवीय तथा कानुनी दुवै हिसाबले उपयुक्त नभएको बताए । ‘सुकुम्बासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो, त्यो मानवीय दृष्टिकोणले र कानुनी दृष्टिकोणले ठीक होइन भनेर हामीले विरोध गरेका छौँ,’ उनले भने ।

उनले सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि प्रभावित समुदायको अधिकार, सम्मान र कानुनी व्यवस्थालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए । देशमा १०/१२ लाख सुकुम्बासी रहेको भन्दै घिसिङले उनीहरूलाई तत्कालीन समयमा विद्युत् दिनुहुँदैन भनिरहँदा आफूले निःशुल्क मिटर दिएको बताए ।