१३ देशका राजदूतका लागि ४ हजार आवेदन, छानबिन सुरु

विभिन्न १३ देशका लागि रिक्त नेपाली राजदूत पदमा झन्डै ४ हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयका अनुसार करिब ३ हजार आवेदकबाट ती आवेदन प्राप्त भएका हुन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार एकै व्यक्तिले एकभन्दा बढी देशका लागि आवेदन दिएका कारण कुल आवेदन संख्या बढेको हो। कतिपय आवेदकले १० वटासम्म देशका लागि अलग–अलग आवेदन दिएका पनि देखिएको उनले बताए।

कूटनीतिक इतिहासमै पहिलो पटक मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि जेठ १४ गते सूचना जारी गरेको थियो। आवेदन दिने अन्तिम म्याद जेठ २२ गतेसम्म तोकिएको थियो। यसपटक इच्छुक व्यक्तिले स्वयं आवेदन दिन सक्ने मात्र नभई अन्य व्यक्ति वा निकायले समेत सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो। तर म्याद नाघेका वा रीत नपुगेका आवेदनहरू छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्राप्त आवेदनहरूको प्रारम्भिक छानबिन सुरु गरिसकेको छ। योग्यता र मापदण्डका आधारमा सर्टलिस्ट तयार गरी योग्य उम्मेदवारलाई मात्र आगामी चरणमा समावेश गरिनेछ। राजदूत छनोटका लागि कम्तीमा ३५ वर्ष उमेर, स्नातक तह उत्तीर्ण, अंग्रेजी भाषाको ज्ञान, विदेश नीति तथा कूटनीतिक अनुभव लगायतका योग्यता तोकिएको छ। साथै नैतिक चरित्र, स्वार्थको द्वन्द्व नहुने अवस्था, र अन्तर्राष्ट्रिय नियम–कानुनबारे ज्ञानलाई पनि अनिवार्य मापदण्ड बनाइएको छ। मन्त्रालयले अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि नयाँ राजदूत नियुक्त गर्ने तयारी गरेको छ।