कृत्रिम बुद्धिमत्ता (एआई), बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा विकासको स्वरूप परिवर्तन भइरहेका बेला समावेशी तथा दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँगको साझेदारी विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न “समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता” विषयक क्षेत्रीय सम्मेलनमा सहभागीहरूले विकासका कार्यक्रमहरूमा निजी क्षेत्रलाई लाभग्राही मात्र नभई सहलगानीकर्ता, नवप्रवर्तनकर्ता र रणनीतिक साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका हुन्।
“व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा नेपालसहित म्यानमार, बंगलादेश र भियतनामका करिब १५० जना नीति निर्माता, व्यवसायी, विकास साझेदार, वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद् तथा उद्यमीहरूको सहभागिता रहेको थियो। सम्मेलनमा सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाबारे अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. गुणाकर भट्ट ले लगानी, नवप्रवर्तन र निजी क्षेत्रद्वारा नेतृत्व गरिएको आर्थिक वृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र आधार बन्न नसक्ने उल्लेख गर्दै उहाँले समावेशी विकासका लागि गतिशील निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो।
विशेष मन्तव्यका क्रममा रामेश्वर खनाल ले उत्पादकत्व, नवप्रवर्तन, लगानी तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। लगानीकर्ता विश्वस्त हुने वातावरण सिर्जना गर्न सरकार सहजीकरणकर्ताको भूमिकामा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ थियो।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले रोजगार र आर्थिक प्रतिस्पर्धात्मकताका चुनौती समाधान गर्न सरकार, निजी क्षेत्र, श्रमिक, विकास साझेदार तथा समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताउनुभयो। उहाँले भविष्यका चुनौती सामना गर्न विश्वास, सहकार्य र साझा जिम्मेवारीमा आधारित नयाँ विकास सम्झौताको आवश्यकता औंल्याउनुभयो।
हेल्भेटासका एसिया महादेशीय संयोजक डा. जुएर्ग मर्ज ले निजी क्षेत्रको संलग्नता अतिरिक्त स्रोत परिचालनमा मात्र सीमित नभई साझा मूल्य सिर्जना गर्ने संरचित साझेदारीको प्रक्रिया भएको बताउनुभयो। विकास सहकार्य परम्परागत अनुदानमुखी मोडेलबाट सह-वित्तीयकरण, मिश्रित वित्तीय व्यवस्था तथा निजी लगानी परिचालनतर्फ रूपान्तरण भइरहेको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी, स्विस विकास तथा सहयोग नियोग (SDC) का उपप्रमुख माथियास मायर ले दिगो विकासका लागि निजी क्षेत्र अपरिहार्य रहेको बताउँदै लागत, जोखिम र जिम्मेवारी साझेदारी गर्ने साझेदारी मोडेललाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
सम्मेलनअन्तर्गत बागमती प्रदेश उद्योग परिसंघसँगको सहकार्यमा “निजी क्षेत्रको संलग्नता : प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) को छवि निर्माण” विषयक सीप प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा सूचना प्रविधि, अटोमोबाइल तथा आतिथ्य क्षेत्रका प्रशिक्षार्थीहरूले आफ्नो सीप प्रदर्शन गरेका थिए। सूचना प्रविधितर्फ सुष्मा तामाङ, अटोमोबाइलतर्फ प्रेम गोले र आतिथ्यतर्फ सुदीप वाइबा विजेता घोषित भएका थिए। साथै, अमृता प्रजाले सीबीपीआई प्रेसिडेन्सियल अवार्ड–२०२६ प्राप्त गरेकी थिइन्।
सम्मेलनमा डिजिटल सेवा तथा उत्पादनसम्बन्धी मार्केटप्लेस पनि आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा सीप विकास, रोजगारी, उद्यमशीलता, वैदेशिक रोजगार व्यवस्थापन तथा उद्यम विकासमा डिजिटल प्रविधिको प्रयोगमार्फत विकसित विभिन्न नवप्रवर्तनशील समाधानहरू प्रस्तुत गरिएको थियो।
सम्मेलन निजी क्षेत्रको नेतृत्वमा समावेशी आर्थिक वृद्धि, मर्यादित रोजगारी, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासका लागि सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।


















