पपुलिजम र अराजकतावाद यथास्थितिका पक्षपोषक हुन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम (प्रियतावाद) र एनार्कीजम (अराजकतावाद) यथास्थितिका पक्षपोषक हुने टिप्पणी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुवै प्रवृत्तिले तत्कालीन मुद्दामा मात्र ध्यान केन्द्रित गर्ने र समाजलाई दीर्घकालीन रूपमा परिवर्तन होइन, यथास्थितिमै राख्ने काम गर्ने बताएका छन् ।पोखरेलका अनुसार पपुलिजम र अराजकतावादले समस्याको समाधान आफूहरू नै भएको भ्रम सिर्जना गर्ने र समाजलाई आकर्षित गर्ने प्रयास गर्छन्। उनले भने,“सबै समस्याको रामवाण समाधान हामी हौं भन्ने खालको भाष्य निर्माण गरिन्छ ।”

उनले अहिले नेपाली समाजमा “पुरानाले गर्न सकेनन्, हामीले गर्छौं” भन्ने भाष्य बलियो बनाउने प्रयास भइरहेको उल्लेख गर्दै समाज परिवर्तनको वास्तविक बाटो विचारधारामा आधारित हुने धारणा राखे।महासचिव पोखरेलले विचारधारा केन्द्रित आन्दोलनमार्फत मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि संगठित प्रयास आवश्यक रहेको पनि बताएका छन्।