समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता कार्यलाई तीव्रता दिएको छ। समितिका अनुसार जेठ २०८३ मा विभिन्न १२ सहकारीका ऋणीहरूबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गरिएको छ। सोही अवधिमा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४ सय ५२ जना साना बचतकर्तालाई ५९ लाख ४ हजार रुपैयाँ फिर्ता गरिएको छ।
त्यसैगरी १२२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बचत मिलान गरिएको समितिले जनाएको छ। समितिका अनुसार साना बचतकर्ताको रकम प्राथमिकताका आधारमा फिर्ता गर्ने काम निरन्तर भइरहेको छ।समितिले हालसम्म १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता प्रक्रिया पूरा गरिसकेको छ भने बाँकी सहकारीका मागदाबी प्रमाणीकरण, ऋणी पहिचान, तथा सम्पत्ति खोजी कार्य जारी राखिएको छ। समितिले सम्पत्ति अपचलनमा संलग्न भनिएका सञ्चालक, व्यवस्थापक तथा पूर्वसञ्चालकहरूको सम्पत्ति खोजीका लागि विशेष टोली परिचालन गरिएको पनि जनाएको छ।
















