नेकपा एमालेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि कपिलवस्तुको चन्द्रौटामा सुरु हुँदैछ।बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार कपिलवस्तुको चन्द्रौटामा आयोजना हुने बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मालगायत शीर्ष नेताको सहभागिता रहनेछ।
बैठकमा १२ जिल्लाका जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। संगठनात्मक पुनर्गठन, पछिल्लो निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा छलफल हुनेछ। बागमती र कोशी प्रदेशका बैठकमा भने नेतृत्व परिवर्तनको आवाज बलियो रूपमा उठेको थियो।
बैठकको मुख्य एजेन्डा पार्टीको संगठनात्मक पुनःगठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्ने रहनेछ। बैठकबाट संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्तालाई सक्रिय बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।


















