कांग्रेसको आरोप– सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जंगलीराज चल्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर जंगलीराज चलाउन खोजेको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको बताएका हुन् ।

सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएका भन्दै आपत्ति जनाए । ‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जंगलीराज ? उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अंग हो । यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो ।’

भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्वप्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी कानुनभन्दा माथि कोही नरहेको उनले बताए ।सांसद बुढाले प्रधानमन्त्री संसदकाे सामना गर्न डराएको आरोप लगाए । ‘जुन संसदले प्रधानमन्त्री बनायो, त्यही संसदलाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ,’ उनले भने, ‘बजेटको प्रश्न होस् वा सीमाको विषय, प्रधानमन्त्री संसदमा आएर जवाफ दिन चाहनुहुन्न । यो सिंगो देशका नागरिकलाई हेपेको हो ।’