राप्रपाको मूल नेतृत्वको रवैया ठीक छैन , सिद्धान्त एउटा बोक्ने तर व्यवहार अर्कै गर्ने : केशवराज श्रेष्ठ, पूर्व महामन्त्री, राप्रपा नेपाल

 

 लामो समय योगदान दिएको पार्टी परित्याग गरी नयाँ अभियानमा लाग्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी किन परित्याग गर्नुभयो?

म सहितका साथीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी देशमा एउटा राष्ट्रवादी शक्तिका रूपमा उदाउनेछ भन्ने विश्वास थियो। तर गएको चुनावमा पार्टीबाट उम्मेदवार बनेका ९७ प्रतिशत साथीहरूको जमानत जफत भयो। चुनावमा पार्टीले अपेक्षा गरेजस्तो परिणाम ल्याउन नसक्नुको कारण के हो? नेतृत्व र जनताको बुझाइमा कहाँ समस्या भयो भन्ने पहिचान गरी अगाडि बढौँ भन्ने हाम्रो भनाइ थियो। तर नेतृत्वले कसैको कुरा नसुन्ने र आफ्नै तरिकाले अगाडि बढ्ने व्यवहार देखायो। उहाँकै कारण पार्टीलाई जनताले तिरस्कार गरेको देखियो। नेतृत्वले हाम्रो कमजोरी स्वीकार गर्नुपर्ने ठाउँमा छलफल नगरी कार्यकर्तालाई दासजस्तो व्यवहार गर्ने गरेकोले असन्तुष्टि बढेको हो।

राप्रपा छोड्नुको मुख्य कारण राजेन्द्र लिङ्देनको कार्यशैली हो कि राप्रपाले लिएको नीति–विचार ठीक नभएको हो?

मूल कुरा त नेतृत्वको रवैया ठीक नभएकै हो। अहिलेको कार्यदिशा पनि परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। किनभने राप्रपामा सिद्धान्त र व्यवहारमा एकरूपता भएन। सिद्धान्त एउटा बोक्ने, व्यवहार अर्को गर्ने अवस्था रह्यो। हामी राप्रपा नेपालसँग मर्जर भएर चुनावमा होमिँदा नेतृत्वले गर्नुपर्ने काम गरेन। नेतृत्व वर्ग आफैँ चुनाव लडिरहेकाले पनि प्रभावकारी भूमिका देखिएन। यस कारण हामीले राप्रपामा सिद्धान्त र व्यवहारबीच विचलन भइरहेको महसुस गर्‍यौँ। त्यही कारणले हामीले राप्रपा छोड्यौँ।

यहाँहरूले धवल शमशेर राणाको नेतृत्वमा पार्टी छाड्नुभयो। राणा आफैँ पनि पार्टीको महामन्त्री हुनुहुन्थ्यो। पार्टीमै रहेर आगामी महाधिवेशनमा आफ्ना मत राख्ने, चुनाव लड्ने, अध्यक्षको विरुद्धमा उम्मेदवार बन्न सक्ने बाटो हुँदाहुँदै पार्टी छाड्नै पर्ने अवस्था किन आयो?

धवलजीले पार्टीभित्र निरन्तर संघर्ष गर्नुभयो। निर्वाचित महामन्त्रीको हैसियतले पार्टीभित्र प्रजातान्त्रिक प्रक्रिया अपनाउनुपर्छ भन्ने कुरा उहाँले उठाउँदै आउनुभयो। तर अध्यक्षले त्यसलाई स्वीकार गर्नुभएन। बरु बोल्ने नेताहरूलाई कारबाही गर्ने अवस्था आयो। जसका कारण विद्रोहको स्थिति बन्यो। कार्यसम्पादन समितिमा महाधिवेशन जेठभित्र गर्ने भन्ने समझदारी थियो, तर जेठमा महाधिवेशन भएन। त्यसैले धवल शमशेरसहित हामी बाध्य भएर पार्टी छोड्नुपर्‍यो।

जेन्जी आन्दोलन, चुनाव जस्ता विभिन्न परिस्थितिले महाधिवेशन एक वर्ष पछि सर्दा पनि विधान विपरीत हुने थिएन। त्यही महाधिवेशनसम्म गएर आफ्ना कुरा राख्नुभएको भए तपाईंहरूको पक्षमा बहुमत आउन पनि सक्थ्यो नि?

विधान मात्रै ठूलो कुरा होइन, व्यवहार ठूलो कुरा हो। किनभने यस चुनावमा जनताले तिरस्कार गरे। अब अर्को वर्ष स्थानीय चुनाव आउँदैछ, र त्यसको लागि तयारी गर्नुपर्ने हुन्छ। त्यसैले हामीले अहिले नै महाधिवेशन गरेर अगाडि जानुपर्छ भन्ने हाम्रो धारणा हो। यसो गर्दा नयाँ नेतृत्वलाई काम गर्ने समय पनि मिल्छ, जनतालाई पनि बुझाउन सकिन्छ—“हामी नयाँ ऊर्जाका साथ आएका छौं, हामीलाई साथ दिनुहोस्” भन्न मिल्छ भनेर हामीले भन्यौं, तर अध्यक्षले मान्नु भएन।

धवल शमशेर राणासँग तपाईंहरूको सहकार्यको आधार के हो, अब कसरी अगाडि बढ्नुहुन्छ?

हामी पहिला राप्रपा नेपालमा थियौं। कमलजीले बहादुरीका साथ राप्रपा नेपाललाई राप्रपामा मर्ज गराउनुभयो, तर दुई पार्टीको समायोजन भएन। १२६ जनाको नाम दिइएको थियो, तर राप्रपाले कसैलाई पनि सम्बोधन गरेन। ६–७ जनालाई मात्र आमन्त्रित केन्द्रीय सदस्य भनेर बोलाइयो, तर उहाँहरूलाई समेत चिठ्ठी दिइएन। यस्तो खालको भेदभाव गरेर पार्टी कसरी ठूलो हुन्छ? पार्टी ठूलो बनाउन त ठूलो हृदय चाहिन्छ। सबैलाई अटाउने वातावरण बनाउनुपर्छ। सबैले पार्टीको सिद्धान्त बोकेर हिँड्न सक्ने आधार तयार गरिदिनुपर्छ, तर त्यो भएन। राप्रपा नेपालका साथीहरूलाई अपमानित गरियो, कसैले पनि काम गर्ने वातावरण पाएनन्। त्यसैले हामी पार्टी छोड्न बाध्य भयौं।

जहाँसम्म धवलजीसँग मिलेर कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्न छ, धवलजी पूर्ण रूपमा प्रजातान्त्रिक व्यक्ति हुनुहुन्छ। उहाँको काम गर्ने तरिका पनि फरक छ। उहाँ दुई पटक नेपालगञ्जको मेयर हुनुभयो र जनताप्रतिको उत्तरदायित्व राम्रोसँग निभाउनुभएको देखिन्छ। महामन्त्री भएर काम गर्दा पनि उहाँलाई कार्यकर्ताले रुचाएको देखिन्छ। त्यसकारण उहाँसँगै अगाडि बढ्ने हाम्रो सोच हो।

तपाईंहरू त पार्टीबाट बाहिरिनुभयो। तीन जना पुर्व अध्यक्षहरूले समेत वर्तमान नेतृत्वको कार्यशैली ठीक भएन भन्ने खालले विज्ञप्ति निकाल्नुभएको छ। त्यहाँ बसेका साथीहरुलाई  के भन्नुहुन्छ  ?

त्यहीँ भित्र बसेर राम्रो हुन सक्छ र त्यसैलाई राम्रो गर्न सकिन्छ भन्ने लाग्छ भने त्यहीँ भित्र संघर्ष गर्नुस्। होइन, अब यहाँ बसेर संघर्ष गर्न सकिँदैन, हाम्रो संघर्षको मूल्य छैन, नयाँ तरिकाले जानुपर्छ र नयाँ जनादेश लिनुपर्छ भन्ने हो भने  धवलजीको नेतृत्वमा संगै  अगाडि बढेर जाऔं  एउटा राष्ट्रवादी शक्ति एउटा निर्माण गरौं भन्न चाहन्छु।

अब कसरी अगाडि बढ्नुहुन्छ ? भावी कार्ययोजनारु के छन ?

अहिले दुर्गा प्रसाईं जी , केशरबहादुर विष्ट लगायत अन्य अभियन्ताहरू, साना साना दलहरू छन  उहाँहरूसँग समन्वय गरेर  एउटा प्रजातान्त्रिक पार्टी बनाउने र हाम्रो  र जनताले जे  प्राप्त गर्न एजेण्डा छ त्यो प्राप्तिको लागि संघर्ष गर्ने बाटोमा हामी जान खोजिरहेका छौं।

दुर्गा प्रसाईं सँग त यहाँहरूले संयुक्त रूपमा अगाडि बढ्ने भनेर विज्ञप्ति पनि आएको छ। केशरबहादुर विष्टसँग पनि कुराकानी भइरहेको छ,  ?

दुर्गाजीसँग त कुरा धेरै नै अगाडि बढिसक्यो। हामीले एउटा समझदारी पनि गरिसकेका छौं। केशरबहादुर विष्टसँग पनि हाम्रो वार्ता टोलीको  कुरा भइराखेको छ। त्यो पनि बिस्तारै अगाडि बढ्दै छ। उहाँ लगायत अन्य जस्तै गीता राणाजीहरू सँग पनि कुरा भइराख्या छ ।  अरु दल र  अभियन्ताहरूसँग पनि कुराकानी भइराखेको छ ।

के अब दुर्गा प्रसाईं सँग मिलेर एउटै पार्टी बनाउनुहुन्छ ?

दुर्गा प्रसाईं जीको एउटा अभियान भयो उहाँले  जनताको समस्यालाई सम्बोधन गर्नको लागि अभियानहरू चलाइराख्नुभएको छ, । हामीले अनुरोध गरिराख्या छौँ— तपाईंले अभियान त चलाउनुभयो, तर त्यसलाई मतको रुपमा रुपान्तरण गर्न सक्नुभएन। जनताको जनादेश प्राप्त गर्नको लागि मत आवश्यक पर्छ, र मतमा  रुपान्तरण  गर्न पार्टी चाहिन्छ ।

राजसंस्था हिन्दु राष्ट्रको मुद्दा राप्रपाले नै उठाउँदै आएको छ। राप्रपाभन्दा तपाईंहरूको एजेन्डामा के फरक छ?

हामी एउटा प्रजातान्त्रिक पार्टी हौँ। राजसंस्था एउटा प्रतीक (सिम्बोल) का रूपमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो। राजसंस्था आउँदैमा देश तुरुन्तै विकास हुने पनि होइन, न त देशमा कुनै चमत्कार नै हुन्छ। त्यसैगरी हिन्दु राष्ट्र आउँदैमा पनि तुरुन्तै सबै कुरा परिवर्तन हुने होइन।

हामीले राजसंस्थाको पक्षमा बोल्नुको कारण के हो भने अहिले राष्ट्रपतिको व्यवस्था छ, जहाँ दलका मानिसहरू राष्ट्रपतिको रूपमा देखिन्छन्। उनीहरूको चरित्र र भूमिका कस्तो छ भन्ने कुरा जनताले देखेकै छन्।

राजा त कुनै पार्टीको हुँदैनन्। देशमा पार्टीगत स्वार्थभन्दा माथि उठेको एउटा संस्था होस् र त्यो प्रतीकात्मक होस्, जसले देशको सान, मान र प्रतिष्ठाको प्रतिनिधित्व गरोस् भन्ने मात्र हाम्रो कल्पना हो। हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ।

राजसंस्थालाई हामी एकताको प्रतीकका रूपमा लिनुपर्छ भन्ने मान्यता राख्छौँ। अहिले राप्रपाले भनेजस्तो राप्रपाको मात्र राजा त हुँदैन, सबै दलले मान्ने राजा हुने हो। त्यसकारण हामीले चाहेको भनेको सबै दलले स्वीकार गर्ने राजा होस् भन्ने हो। कार्यकारी काम गर्ने त जनताबाट निर्वाचित प्रधानमन्त्री नै हो।

जनताले २०६२/६३ को आन्दोलनमार्फत हटाएको राजसंस्था पुनः सजिलै आउला र?

त्यो त पक्कै सजिलो छैन। तर राजसंस्था रहँदासम्म अहिले देखिएका धेरै विकृतिहरू थिएनन्। राजसंस्था हटेपछि धेरै विकृति बढेका छन्। नीतिगत भ्रष्टाचारका अनेकौँ उदाहरण देखिएका छन्। बालेन सरकारले पनि पहिलो प्राथमिकता सुशासनलाई दिएको बताइरहेको छ। त्यसैले जनताले नै राजसंस्था चाहिरहेका छन् भन्ने हाम्रो बुझाइ हो।

तपाईंहरूकै नेताले विदेशीको इसारामा नेपालबाट राजसंस्था हटाइयो भनेर भाषण गर्नुहुन्छ। ल्याउन पनि विदेशीले नै मान्नुपर्ला नि?

राजनीति हाम्रो देशकै माटोमा हुने कुरा हो। यसमा विदेशीको भूमिका त्यति निर्णायक हुँदैन। किनभने अन्ततः भोट हाल्ने नेपाली जनता नै हुन्। २०६२/६३ पछि राजसंस्था जुन तरिकाले विस्थापित गरियो, वास्तवमा त्यसका लागि जनताको प्रत्यक्ष मत लिइएको थिएन।

जनमतका रूपमा त्यो एजेन्डा आएको थिएन। संविधान बनाउने क्रममा त्यो व्यवस्था समावेश गरियो। तर जनमतको प्रत्यक्ष परीक्षण भएको छैन। यदि परीक्षण गर्ने हो भने जनमतसंग्रहमा जानुपर्छ।

राप्रपाले सधैँ राजसंस्था हिन्दु राष्ट्रको एजेन्डामा भोट मागिरहेको छ। तर ‘जेन्जी’ आन्दोलनपछिको चुनावमा पनि राप्रपाले उल्लेख्य मत पाएन। यसको अर्थ जनताले राजा हिन्दु राष्ट्रको एजेन्डालाई समर्थन गरेनन् भन्न मिल्दैन र?

हाम्रो मूल एजेन्डा राजा र हिन्दु राष्ट्र मात्र होइन। हाम्रो मुख्य एजेन्डा आर्थिक विकास हो। किनकि जबसम्म अर्थतन्त्र बलियो हुँदैन, जनता समृद्ध हुँदैनन् र देश पनि समृद्ध हुन सक्दैन।

 अब नयाँ बनाउँदै गरेको पार्टीको मूल एजेन्डा के हुन्छ ?त्यो राप्रपा अन्य दलभन्दा फरक कसरी हुनेछ ?

हाम्रो मूल एजेन्डा अब  आर्थिक विकास हुन्छ । राजसंस्था र हिन्दु राष्ट्र पनि हाम्रो एजेन्डाभित्र रहन्छ। तर त्योभन्दा मूल एजेन्डा आर्थिक क्रान्ति ,सुशासन  हुन्छ   । राजसंस्था चाहिँ सिम्बोलिक रुपमा रहन्छ । सक्रिय होईन ।

भनेपछि लगभग अब दुर्गा प्रसाईंसँग तपाईंहरू मिलेर जाने निश्चित हो, ?

अहिलेसम्मे निश्चित नै छ। दुर्गाजीले पनि स्वीकार गर्नुभएको छ। अहिले हाम्रो एउटा कार्यदल बनेको छ। त्यो कार्यदलले विधानहरू बनाउने, झण्डा, पार्टीको नाम तय गर्ने  काम गर्दैछ  ।

राप्रपामा सधैँ फुट भइरहन्छ किन यस्तो भएको  ?

राप्रपामो सिद्धान्त र व्यवहार फरक पर्यो । सिद्धान्त एउटा बोक्ने , व्यवहार अर्को गर्ने। जसले गर्दा  टुट्ने अनि फेरि जोड्ने भईरहन्छ ।   त्व्यक्तिगत टकराव पनि सिद्धान्त र व्यवहार नमिलेको कारणले हुने हो ।

तपाईंहरू छाडिसकेपछि तीन जना पूर्व अध्यक्षले दिएको विज्ञप्तिलाई चाहिँ कसरी लिनुभएको छ ?

उहाँहरू संस्थापक नेता हुनुहुन्छ उहाँहरूले सुझाव दिनु ठिकै हो। तर उहाँहरू कार्यकारी पदमा हुनुहुन्न। त्यही भएर मैले भनेको  सिद्धान्त र व्यवहार फरक भयो भनेर । कित विधानमा नै वरिष्ठ नेता भनेर पूर्व अध्यक्षको काम, कर्तव्य यो हुनेछ भनेर लेख्नुपथ्र्यो। तर उहाँहरूलाई चाहिँ सम्मानको लागि सम्मान मात्र दिइयो। उहाँहरूले भनेको अध्यक्षले मन लागे माने भयो, मन नलागे नमाने भयो।

समग्र देशको राजनीति चाहिँ कसरी हेर्नुभएको त ?

जुन संक्रमणकाल थियो, त्यसबाट मुलुक  निस्किन खोजेको हो कि जस्तो देखिन्छ। जेन्जी आन्दोलन पछाडि एउटा शक्तिशाली सरकार बन्यो। र अब यो शक्तिशाली सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण गर्यो भने पक्कै पनि आर्थिक वृद्धि  हुन्छ ।  जनताले अलिकति सुख पनि पाउँछन्। तर अब यो सरकारले कसरी काम गर्छ भन्ने त हेर्न नै बाँकी छ।

सरकार बनेको तीन महिना हुन थाल्योे तीन महिनाका काम  कस्तो देख्नुहुन्छ ?

अहिलेसम्मको काम हेर्दा त सकारात्मक नै देखिन्छ।  विगत ३५ वर्षदेखिका  तमाम विकृतिहरूलाईे सफा गर्न खोजेकै देखिन्छ। बाँकी त  यो बजेट कार्यान्वयन भइसकेपछि  बल्ल देखिएला ।

अहिले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने नाममा पहिला थुन्ने अनि मात्रै बल्ल सोधपुछ गर्ने गर्नुभएको छ। त्यो अलि बढी प्रतिशोधपूर्ण कार्य भयो कि भन्ने कोणबाट पनि आलोचना  हुने गरेको नि ? 

शङ्काको लाभ त अब सबैलाई दिन सकिन्छ। तरसरकारले आयोग गठन गरेर, सरकारी निकायले अनुसन्धान गरेर  दोषी हो भनिसकेपछि त्यसलाई कारबाहीको दायरामा लानु त  गुड गभर्नेन्स नै हो ।  धेरै ठुलो कुरोजस्तो लाग्दैन। किनभने त्यो अहिलेसम्मको विकृति हटाउने सायद तरिका पनि त्यही होला। किनभने अब योभन्दा अगाडिका सरकारहरूले समाजवादको नाममा आफ्नान्तवाद फरियाद   निम्त्याएको   त्यसलाई  यो सरकारले  अन्तय गर्न खोजेको जस्तो देखिन्छ।

सुकुम्बासीको कुरालाई लिएर पनि धेरै टीका टिप्पणी भएका छन् नि ?

सुकुम्बासी समस्या  राष्ट्रिय समस्या हो,  यसलाई सरकारले सम्बोधन गर्नै पर्छ। किनभने सुकुम्बासी भनेको  कतै  केही पनि नभएर नै  हो। त्यसकारण उनीहरूलाई   रोजीरोटीको सरकारले व्यवस्थापन गर्नुपर्छ अर्को तर्फ  बेरोजगार भयो, रोजगारी भएनु भन्ने नाममा सरकारी जमिन अतिक्रमण गर्न छुट चाहिँ हुनुहुँदैन।

बालेन शाहले संसद्को रोस्टममा बोल्नुभयो , नेपालले भारतको भूमि मिचेको छु भनेर, धेरै हल्लीखल्ली भइरहेको छ  नि ।?

हाउसमा वहाँले बोलेको हेर्दाखेरि ,  वहाँले लिखित भाषण दिनुभएन, मौखिक नै दिनुभयो, वहाँको टङ स्लिप भएको हो कि जस्तो पनि लाग्छ ।  वहाँले  आफ्नो  अधिवेशनमा बोल्दाखेरि लिपुलेक र कालापानीको जुन कुरा गर्नुभयो

राष्ट्रीयताको बारेमा वा अहिलेको सरकारले अहिलेसम्म गरेको समग्र काममा मोटामोटी ठीक दिशामै गइरहेको भन्ने यहाँको भनाइ हो ?

अहिलेसम्मको बालेन सरकारको गतिविधिलाई हेर्दाखेरि त्यति गलत दिशामा गएको जस्तो देखिँदैन। ठीकै दिशामा गएको देखिन्छ।

अनि समग्र नीति, कार्यक्रम बजेट पनि आइसकेको छ। त्यसलाई चाहिँ कसरी लिनुभएको छ?

“नीति तथा कार्यक्रम त समग्रमा ठीकै छ। तर मुख्य कुरा यसको कार्यान्वयन हो। यसलाई दृढ रूपमा कार्यान्वयन गर्न सकियो भने, मलाई लाग्छ यो अघिल्ला सरकारहरूले ल्याएका नीति तथा कार्यक्रमभन्दा फरक र प्रभावकारी हुन सक्छ। तर यसलाई जनताका समस्यासँग, उत्पादनसँग र रोजगारी सिर्जनासँग जोड्न सकिएन भने फेरि समस्या आउन सक्छ। त्यसैले सफलताको आधार कार्यान्वयनमै निर्भर गर्छ।”