बढ्दो युक्रेनी हवाई आक्रमणको प्रभाव कम गर्नका लागि भन्दै रूस–नियन्त्रित क्रिमियाका अधिकारीहरूले शुक्रबार ‘सङ्कटकालीन अवस्था’ को घोषणा गरेका छन् ।
यो क्षेत्रले दक्षिणी रूसको पूर्वाधारमा युक्रेनले गरेको आक्रमणका कारण इन्धनको अभाव र बिजुली कटौतीको सामना गरिरहेको छ । क्रिमियाबाट रूसको विशाल क्षेत्रमा इन्धनको आपूर्ति हुन्छ । “क्रिमिया गणतन्त्र र सेभास्टोपोल शहरमा क्षेत्रीय स्तरको आपतकालीन स्थिति घोषणा गर्ने घोषणामा हस्ताक्षर गर्न निर्णय गरिएको छ,” मस्कोद्वारा नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा भनिएको छ ।
यो आपतकालीन स्थितिले ‘सबै क्षेत्रहरूको स्थिर सञ्चालन सुनिश्चित गर्न सम्बन्धित कार्यहरूलाई छिटो समाधान’ गर्न अनुमति दिनेछ, अक्सियोनोभले उक्त पोस्टमा भनेको छ ।
किएभले क्रिमियामा भएको आफ्नो हवाई आक्रमणलाई रूसबाट युक्रेनी नागरिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिकजसो भएको बमबारीको उचित जवाफ भनेको छ । उनले बिहीबार प्रकाशित एक विज्ञप्तिमा क्रिमियाले ‘चुनौतीपूर्ण समय’ सामना गरिरहेको र ‘इन्धनको स्थिति’ सबैभन्दा कठिन अवस्थामा रहेको स्वीकार गरे ।
“यो कति समय लाग्छ भन्ने म ठ्याक्कै भन्न सक्दिनँ, न त विशिष्ट कार्ययोजना सार्वजनिक रूपमा खुलाउन सक्छु, तर हामी पहल गरिरहेका छौँ,” उहाँले विज्ञप्तिमा भने । उनले रूसी सेनाले प्रायद्वीपलाई पूर्ण रूपमा सुरक्षा दिन नसकेको पनि स्वीकार गरे । “दुखद् कुरा संसारमा कुनै पनि एयर डिफेन्स प्रणाली पूर्ण रूपमा सुरक्षित र प्रभावकारी छैन,” उनले थपे । रूसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरी आफ्नोमा गाभेको थियो, तर मस्कोका धेरै सहयोगी देशसमेत अधिकांश देशहरू यस कदमलाई मान्यता दिँदैनन् ।
युक्रेनले क्रिमियालाई आफ्नो अविभाज्य भू–भाग भएको बताउँदै आएको छ र कहिल्यै औपचारिक रूपमा यसलाई छोड्न नसकने बताउने गरेको छ । युद्धको सुरुवातदेखि किएभले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएको छ, जसलाई क्रेमलिनको महत्वपूर्ण आम्दानी रोक्ने उद्देश्यले जवाफी हमलाको रूपमा गरिएको बताउने गरिएको छ।


















