लागुऔषध नियन्त्रणमा आपूर्ति शृङ्खला तोड्न गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि आपूर्ति शृङ्खला (सप्लाई चेन) नै तोड्ने गरी प्रभावकारी अभियान सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा जारी सन्देशमा उनले लागुऔषध नियन्त्रण सीमित प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै यसको आपूर्ति प्रणाली भत्काउने, प्रयोगकर्ताको पुनःस्थापना गर्ने र दीर्घकालीन रणनीतिका साथ अभियान अघि बढाउनुपर्नेमा जोड दिएका हुन्। गृहमन्त्री गुरुङले लागुऔषध नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई निजी क्षेत्र, शैक्षिक संस्था, खेलकुद क्षेत्र, युवा क्लब, आमा समूह तथा सम्पूर्ण समुदायको साझा दायित्व भएको बताए। सबै पक्षको सक्रिय सहभागिताबाट मात्रै लागुऔषधविरुद्धको अभियान प्रभावकारी बन्न सक्ने उनको भनाइ छ।

उनले विशेषगरी किशोर तथा युवामा लागुऔषध प्रयोग बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै यसले स्वास्थ्य, मानसिक विकास र भविष्यमा गम्भीर असर पार्ने बताए। त्यसैले लागुऔषधको समस्या केवल कानुनी विषय नभई सामाजिक चुनौतीका रूपमा लिएर सामूहिक प्रयासमार्फत समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।