एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वकप चलिरहेको र त्यसमा नेपालभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेको भन्दै नेपालमा भने फुटबल संघ प्रतिबन्ध रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले आपसी स्वार्थका कारण संघ प्रतिबन्ध हुनु दुःख कुरा रहेको औँल्याएका छन् । उनले विश्वकप चलिरहेको बेला नेपालमा भने ‘कस्तो उल्टोपाल्टो कुरा भइरहेको’ भन्दै टिप्पणी गरेका हुन् ।
‘हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन् । हामीजस्तै अल्पविकसित वा विकासशीलमा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाइरहेका छन् । हाम्रो फुटबल प्रतिबन्ध छ,’ उनले भने, ‘के कारणले नेपाल फुटबल संघमाथि बाह्य हस्तक्षेप भयो भन्ने छ । त्यो हस्तक्षेप कसले गर्यो होला ?’
ओलीले सबै चीज आफ्नै लागि मात्रै गर्न खोज्दा यस्तो अवस्था सिर्जना भएको औँल्याएका छन् । उनले खेलकुद क्षेत्रलाई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।



















