बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ बजेदेखि पुनःपरिचालन भएका छन् ।
हिजो बिहान ८ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनः खोजी गरिएको हो । सुर्खेत बसपार्कबाट बिहान ८ बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।



















