धवल शमशेर राणाको चेतावनी, ‘आवश्यक परे सबै जेल भरिने गरी आन्दोलन गर्छौं’

मुलुकी अपराध संहिता, २०७४ संशोधनको प्रस्तावको विरोध गर्दै आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नयाँ पार्टी बनाउने अभियानमा रहनु भएका नेता धवल शमशेर राणाले सरकारले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि अंकुश लगाउने प्रयास गरे त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

काठमाडौंस्थित येलो प्यागोडा होटलमा आयोजित कार्यक्रम राप्रपाका पुर्व नेता सगुन लावतीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा धवल शमशेर राणा प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राणाले सरकारले हाल प्रस्ताव गरेको संसोधन मार्फत अघि बढे आफूहरू त्यसको प्रतिवादमा उत्रिने र आवश्यक परे सबै जेल भरिने गरी आन्दोलन गर्ने बताउनु भयो । उहाँले सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोजे सबै पक्षसँग सहकार्य गरेर विरोध गर्ने पनि स्पष्ट पार्नु भयो ।
पत्रकारहरूसँग कुरा गर्दै राणाले दरबार हत्याकाण्डबारे पुनः छानबिन गर्ने विषयलाई असान्दर्भिक भएको टिप्पणी गर्नु भयो । उहाँले उक्त घटनाका प्रत्यक्षदर्शी ११ जना अझै जीवित रहेको उल्लेख गर्दै उनीहरूको भनाइ नै सत्यको आधार हुने दाबी गर्नु भयो ।
कार्यक्रममा राप्रपा परित्याग गरेका नेता दिलविकास राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वमहामन्त्री र हाल राप्रपा परित्याग गरि नयाँ पार्टी गठन अभियानमा धवल शमशेर राणासंगै सक्रिय रहनु भएका केशवराज श्रेष्ठलगायत नेताहरू सहभागिता हुनुहुन्थ्यो ।

सोही अवसरमा डा. धवल शमशेर राणा र दुर्गा प्रसाईंको अगुवाइमा गठन हुन प्रस्तावित नयाँ राजनीतिक दलका तर्फबाट प्रेस विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो। विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ संशोधन गरी लोकतान्त्रिक गणतन्त्रको विरोधमा गरिने गतिविधिलाई राज्यविरुद्धको कसुर मानी २५ वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डविपरीत रहेको दाबी गरिएको छ।
विज्ञप्तिमा प्रस्तावित संशोधन नेपालको संविधानका धारा १, १७ र २७४ तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थासमेत विपरीत रहेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी कानुन संशोधन नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रेस विज्ञप्तिमा कानुन समितिका प्रमुख डा. महेन्द्रजंग शाहले बाचन गर्नु भएको थियो ।