सरकारले साविकको शहरी विकास मन्त्रालयअन्तर्गतका ५१ वटा आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको छ।
सो प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विभाग र कार्यालयमा पठाइएको छ। शहरी विकासतर्फ पहिचान गरिएका ५१ रुग्ण आयोजनाको प्रगति विवरण अद्यावधिक गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ठेक्का व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जनको मस्यौदा समेत तयार गरिएको छ भने रुग्ण आयोजना र प्रतिफलविहीन लगानीको निरन्तरताबारे सिफारिस गर्न कार्यदल गठन गरी काम अघि बढाइएको छ।
यसैबीच, आयोजना छनोटदेखि भुक्तानीसम्मको प्रक्रिया अनुगमन गर्न डिजिटल करार प्रणाली लागू गर्ने तयारी भइरहेको छ। सो प्रणालीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म १ हजार १ सय ७३ ठेक्काको विवरण प्रणालीमा अद्यावधिक गरिएको छ भने बाँकी ठेक्काका सम्झौता, भुक्तानी, भेरिएसन आदेश र कार्यप्रगति विवरण अद्यावधिक गर्ने काम जारी रहेको छ। मन्त्रालयले भेरिएसन आदेशलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने तथा भुक्तानीलाई कार्यसम्पादन र माइलस्टोनसँग जोड्ने प्रक्रिया अघि बढाइएको पनि जनाएको छ।



















