आइतबार तनहुँको शुक्लागण्डकीमा स्थानीयसँगको भेटघाटका क्रममा उनले जनप्रतिनिधिले जनताको पक्षमा इमानदार भएर काम गर्नुपर्ने भन्दै काम नगर्ने प्रदेशमन्त्रीलाई समेत थुन्ने चेतावनी दिएका हुन् । ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस् । आवश्यक कारबाही गर्छौं । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं हामी,’ उनले भने । उनले सबै जनप्रतिनिधिले जसरी पनि जनताको काम गर्नुपर्नेमा जोड दिए ।
यसअघि पनि उनले काम नगर्ने ठेकेदारहरूको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण उनको व्यापक आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्रीलाई नै थुन्ने चेतावनी दिएका हुन् । उनको यो अभिव्यक्तिको भिडियो क्लिप सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५, दुलेगौँडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताए ।
उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने जनप्रतिनिधिबारे सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरे । ‘यदि कुनै स्थानीय तहका प्रमुख वा जिम्मेवार पदाधिकारीले जनताको काम नगरेको, नागरिकलाई अपहेलना गरेको वा दुःख दिएको पाइएमा हामीलाई जानकारी दिनुहोस् । त्यस्ता गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने ।

















