चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरे।
आयोगको उपाध्यक्ष पद केही समयदेखि रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित आयोगका केही पदाधिकारी पदमुक्त भएका थिए।
त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा सरकारले डा. खत्रीलाई नियुक्त गरेको हो। डा. खत्रीको नियुक्तिसँगै आयोगको नेतृत्व संरचनाले पूर्णता पाएको छ। अब चिकित्सा शिक्षा क्षेत्रको नीति निर्माण, नियमन तथा आयोगका कार्यहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।


















