हेटौँडा कपडा उद्योग पुन :सञ्चालनतर्फ, रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले हेटौँडा कपडा उद्योगमा सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत परीक्षण उत्पादन भइरहेको जानकारी दिएकी छन्। राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आयात प्रतिस्थापन, आत्मनिर्भरता र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर उद्योग सञ्चालनको तयारी भइरहेको बताइन्।

साथै, सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। मन्त्री कुमारीले निजी क्षेत्रको लगानी प्रवर्द्धन, औद्योगिक क्षेत्र व्यवस्थापन, रोजगारी सिर्जना र स्वदेशी उत्पादन वृद्धि सरकारको प्राथमिकता रहेको बताइन्। उनले लगानी संरक्षण रणनीति, उद्यमशीलता विकास कार्यक्रम र विदेशी लगानीका लागि अनलाइन स्वीकृति प्रणाली कार्यान्वयनमा रहेको उल्लेख गरिन्।

दैलेखको जलजले क्षेत्रमा प्राकृतिक ग्यासको सम्भाव्यता देखिएको भन्दै उनले यसको उपयोगबाट विद्युत्, मल र इन्धन उत्पादनको सम्भावना अध्ययन भइरहेको जानकारी दिइन्। साथै, चिया निर्यात समस्या समाधानका लागि कूटनीतिक पहल जारी रहेको बताइन्।