काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारको बिचल्ली भएको छ । पन्ध्र दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी आश्वासन पाएर तीन महिनादेखि त्यहाँ बसिरहेका सुकुम्बासीहरू मध्यरातमा बाढी पसेपछि ज्यान जोगाउन मध्यरातमा भागदौड गर्न बाध्य भएका हुन्।बाढीले भिजेका आफ्ना लत्ताकपडा र भाँडाकुँडा हिलोबाट निकाल्दै गरेका एक सुकुम्बासी वीरबहादुर चेपाङले सरकारले आफूहरूमाथि अमानवीय व्यवहार गरेको गुनासो गरे।
‘हामीलाई पनि बाँच्ने अधिकार छ, हामी कुकुर–बिरालो होइनौं’, उनले भने, ‘हामीले कसैको जग्गा मिचेर बसेका थिएनौं, सुरक्षित ठाउँ दिन्छु भनेर सरकारले बाढीको मुखमै ल्याएर फाल्यो।’
शुक्रबार राति करिब १२ः४० बजेदेखि होल्डिङ सेन्टरमा बागमती नदीको बाढी पस्न थालेको थियो। सुतिरहेको अवस्थामा एक्कासि बाढी पसेपछि बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी जोखिममा परेका छन्। त्यहाँ मुटु, मिर्गौला, दम र निमोनियाका बिरामीहरूसमेत रहेकाले चिसो र ओसिलो वातावरणले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पुगेको छ।



















