गणेश नेपालीको मृत्युप्रति नेकपा (जनपक्ष)को दुःख व्यक्त, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ – नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष)ले मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता दिनेश बर्तोलाद्वारा जारी प्रेस विज्ञप्तिमा मृतक गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विज्ञप्तिमा गणेश नेपाली श्रमजीवी युवा भएको उल्लेख गर्दै, प्राप्त जानकारीअनुसार त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक प्रहरी र महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्विललक गरी १० हजार रुपैयाँ जरिवानाको चिट काटेपछि आर्थिक समस्यामा परेका कारण उनले आत्मदाहको प्रयास गरेको दाबी गरिएको छ।

नेकपा (जनपक्ष)ले उक्त घटनालाई राज्यको जनताप्रतिको गैरजिम्मेवार तथा जनविरोधी नीतिको परिणाम भएको आरोप लगाएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी गणेश नेपालीलाई यस्तो अवस्थासम्म पुर्‍याउने कारण सार्वजनिक गर्न, जरिवाना प्रक्रिया तथा सम्बन्धित निकायको भूमिकामाथि अनुसन्धान गर्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, श्रमजीवी चालकहरूलाई दण्ड र जरिवानामात्र नभई सामाजिक सुरक्षा तथा संरक्षणको व्यवस्था गर्न र बेरोजगार युवाका लागि सम्मानजनक रोजगारीको ग्यारेन्टी गर्न पनि पार्टीले सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमार्फत नेकपा (जनपक्ष)ले जनताको जीवन सुरक्षित हुने व्यवस्था निर्माणका लागि आवाज उठाउन तथा पीडित युवाहरूप्रति ऐक्यबद्धता जनाउन सम्पूर्ण जनसमुदायलाई अपिल गरेको छ।