पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन् । फेसबुकमार्फत् धारणा राख्दै उनले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती क्षयीकरण गरिरहेको बताएकी हुन्।
राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ नाममा गरिरहेको बुलिङ अर्थात् धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनको निष्कर्ष छ।
नेतृत्वले सबैको सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको उनको भनाइ छ। शक्तिमा रहुन्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धिका योजनाहरू कहिल्यै सफल नहुने उनले दाबी गरेकी छन्।


















