इरानले भन्यो : हाम्रो रक्षा सिद्धान्त स्पष्ट छ, आँखाको बदला आँखा

अमेरिका र इरानबिच सैन्य आक्रमण निरन्तर जारी रहँदा दुवै देशका नेताहरूबिच शब्द युद्ध पनि तीव्र बन्दै गएको छ । वासिङ्टन र तेहरानले एक अर्काको कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनी दिएका छन् । जसले क्षेत्रीय तनावलाई थप बढाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत कडा प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्– ‘हाम्रो रक्षा सिद्धान्त स्पष्ट छ, आँखाको बदला आँखा ।’ इरानको पूर्वाधार वा राष्ट्रिय सम्पत्तिमाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने उनले पोस्टमा लेखेका छन् । अराघचीको प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ चेतावनीपछि आएको हो ।

ट्रम्पले बुधबार इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाजलाई निशाना बनाएमा अमेरिकाले प्रत्येक घटनाको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने बताएका थिए ।