वाङचुकले २६ दिनमा तोडे अनशन, प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन बनाउने मोदीको घोषणा

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जारी राखेको २६ दिने आमरण अनशन अन्त्य गरेका छन् । ५९ वर्षीय वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत लामो वार्ता र देशमा हिंसा भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको बताएका छन् । उनले यससम्बन्धी सहमतिका सर्तहरू छुट्टै भिडियोमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

वाङचुकको निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट नियन्त्रणका लागि कडा कानुन ल्याइने घोषणा गरेका छन् । उनले दोषीमाथिको कानुनी कारबाही छिटो अघि बढाइने र यस विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताएका छन् ।

वाङचुकले २८ जुनदेखि मेडिकल कलेज प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको ‘ककरोच जनता पार्टी (सीजेपी)’ को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए । यद्यपि, नयाँ दिल्लीको जन्तर मन्तरसहित देशका विभिन्न स्थानमा सीजेपीको आन्दोलन जारी छ ।