सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ ।
घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए ।
सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् ।आन्दोलनकारीले करिब आधा घन्टा सडक अवरुद्ध गराएका थिए । प्रदर्शनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।


















