कप्तानगञ्जमा प्रहरीको गोली लागेका रवीन्द्र मेहताको काठमाडौंमा निधन

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि निधन भएको छ । सो घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको रास्वपा सांसद अमरेशकुमार सिंहले जानकारी दिएका छन् ।

‘देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा यही साउन १० गते भएको दुःखद घटनामा घाइते हुनुभएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको दुःखद खबरले अत्यन्तै मर्माहित र स्तब्ध भएको छु’, सिंहले सामाजिक सञ्जालमा लेखेका छन् । योसँगै सुनसरीमा उक्त दिन भएको घटनामा परेर ज्यान गुमाएको संख्या तीन पुगेको छ । यसअघि सोही घटनामा प्रहरीको गोली लागेका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको निधन भएको थियो ।