पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघ सडकमा, प्रहरीसँग घम्साघम्सी

पत्रकार किशोर श्रेष्ठको विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शनसहित धर्ना दिएको छ । महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पुगेका पत्रकारहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । धर्नामा बस्न प्रहरीले अवरोध गरेपछि केहीबेर पत्रकार र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो । त्यसक्रममा प्रदर्शनकारी पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’लगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी पत्रकारहरूले कालोपट्टी बाँधेका थिए ।

उनीहरूले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लेखिएका प्लेकार्ड प्रदर्शन गरे । केही पत्रकारले हातमा बलिरहेको लाल्टिन बोकेरसमेत विरोध जनाएका थिए । श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । नेपाल प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच, प्रहरीले बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी समेत गरेको छ । श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । महासंघले श्रेष्ठलाई विनाशर्त रिहा नगरे थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । पक्राउको विरोधमा बुधबार रातिदेखि नै महासंघ अध्यक्ष शर्मासहित पत्रकारहरूले काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गर्दै आएका छन् । श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा लामो समयदेखि सक्रिय श्रेष्ठलाई निर्भीक र खरो पत्रकारका रूपमा चिनिन्छ ।