चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको हो।
पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ। जसका कारण जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गरे ।
विशेषगरी भोटेकोशी, बाह्रबीसे, बलेफी पालिका अन्तर्गतका नदी तटीय बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरिएको छ ।


















