अहिले तपाईं समाजसेवा र व्यवसाय दुवै क्षेत्रमा सक्रिय हुनुहुन्छ। कसरी चलिरहेको छ?
हरेक व्यक्तिमा समाजसेवा गर्ने इच्छा हुन्छ। त्यो मानिसको आफ्नै एउटा पाटो हो। त्यसैगरी, आर्थिक पक्ष मजबुत बनाउन हरेक व्यक्तिले आफ्नो व्यावसायिक पक्षलाई पनि अगाडि बढाउनुपर्छ। यही सिलसिलामा मैले पनि समाजसेवा र व्यावसायिक काम गरिरहेको छ । ठिकै चलिरहेको छ ।
‘जेन्जी’ आन्दोलनपछि भएको निर्वाचनबाट रास्वपाको बहुमत आएको छ र बालेन शाहजस्ता युवाको नेतृत्वमा सरकार बनेको छ। यो सरकार बनेपछि युवाले देशमै व्यवसाय गर्न सक्ने वातावरण बनेको छ कि छैन ?
यसलाई केही पृष्ठभूमिसँग जोडेर हेर्नुपर्छ। बहुदलीय व्यवस्था आएदेखि विभिन्न आन्दोलन हुँदै ‘जेन्जी’ आन्दोलनसम्म आइपुग्दा युवाहरूको मुख्य चाहना समृद्धिसँग जोडिएको देखिन्छ। रोजगारी पाइयोस्, सुशासन होस् र राष्ट्र समृद्धिको बाटोमा अगाडि बढोस् भन्ने चाहना छ। तर ती आन्दोलनले अपेक्षित रूपमा समृद्धिलाई सम्बोधन गर्न नसकेका कारण समाज निराशातर्फ धकेलिएको देखिन्छ। त्यसैले राज्य, सरकार र हामी सबैले यस विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्छ।
तपाईं आफैँ व्यवसाय गरिरहनुभएको छ। नेपालमा व्यवसाय गर्न उपयुक्त वातावरण छ कि छैन ?
सबैको आकांक्षा रोजगारी सिर्जना गर्ने, आफू पनि रोजगार बन्ने र अरूलाई पनि रोजगारी दिने हुन्छ। त्यसका लागि व्यवसाय गर्नुपर्छ। तर नेपालको सन्दर्भमा व्यवसाय गर्न आवश्यक पूर्वाधार अझै पर्याप्त छैन।
कुनै पनि उद्योग सञ्चालनका लागि सडक र बिजुली प्रमुख कुरा हुन्। उत्पादनमूलक मेसिन सञ्चालन गर्न विद्युत् निरन्तर उपलब्ध हुनुपर्छ। तर अहिले पनि बिजुली कतिबेला आउँछ र कतिबेला जान्छ भन्ने निश्चित हुँदैन। यस्तो अवस्थामा मेसिन सञ्चालन भइरहेका बेला अचानक विद्युत् गए ठूलो घाटा हुन्छ।मैले विभिन्न देशमा गएर त्यहाँको औद्योगिक वातावरण र पूर्वाधार हेरेको छु। त्यहाँ भरपर्दो वातावरण छ। नेपालमा पनि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थित बनाउनुपर्छ।
ब्यवसायी बताबरण बन्न पूर्वाधारसँगै अर्को महत्वपूर्ण समस्या नीतिगत र प्रक्रियागत झन्झट हो। नेपालमा नीतिगत स्थिरता छैन। सरकारी प्रक्रिया पनि यति झन्झटिलो छ कि विभिन्न निकायमा धाउनुपर्ने अवस्था छ। एउटै विवरण पटक–पटक बुझाउनुपर्ने र विभिन्न ठाउँमा कर तथा शुल्क तिर्नुपर्ने अवस्था छ।
एउटा सरकारी निकायमा दर्ता गरिसकेपछि त्यही विवरण अर्को निकायले पनि प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्छ। अहिले उद्योग दर्ताका लागि उद्योगसम्बन्धी कार्यालय, पर्यटनसम्बन्धी काम भए पर्यटन कार्यालय र स्थानीय तहमा समेत पुग्नुपर्ने हुन्छ। चार–पाँच ठाउँ धाउनुपर्दा व्यवसायीको समय, ऊर्जा र काम गर्ने क्षमता खेर जान्छ। यसले सुरुवातमै युवालाई निरुत्साहित गर्छ।
त्यसैले अहिलेको सरकारले यो प्रक्रियामा ‘क्रमभङ्ग’ गर्नुपर्छ। पुरानो र झन्झटिलो प्रक्रियालाई तोडेर सरल र व्यवसायमैत्री प्रणाली निर्माण गर्नुपर्छ।
युवाले व्यवसाय सुरु गर्न खोज्यो तर पैसा पर्याप्त छैन भने राज्यले सहुलियतपूर्ण लगानी उपलब्ध गराउने बाताबरण छ छैन ?
यो एकदमै महत्त्वपूर्ण कुरा हो। उद्योग खोल्ने कुरा पैसा भएको व्यक्तिले मात्र गर्ने होइन, भिजन भएको व्यक्तिले गर्ने हो। पैसा पहिलो कुरा होइन, पहिलो कुरा भिजन हो। स्पष्ट योजना, सोच र काम गर्ने इच्छाशक्ति भएको व्यक्तिले व्यवसाय अगाडि बढाउन सक्छ।विश्वभर प्रतिष्ठित उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका धेरै व्यक्तिले सुरुवातमै ठूलो धन–सम्पत्ति लिएर व्यवसाय सुरु गरेका होइनन्। उनीहरूको भिजन, योजना र इच्छाशक्तिले नै उनीहरूलाई अगाडि बढाएको हो।
मेरो आफ्नै सन्दर्भमा पनि मैले विद्यालय सञ्चालन गरिरहेको छु। पहिले दुईवटा विद्यालय सञ्चालन गरिरहेको थिएँ, अहिले एउटा मात्र सञ्चालनमा छ। त्यसबाहेक कफीसम्बन्धी व्यवसाय, कफी शप र एउटा रिसोर्ट पनि सञ्चालन गरिरहेको छु।
अहिले परिवर्तनको आभास भएको छ छैन ?
‘जेन्जी’ आन्दोलनपछि नेपाली जनताले नयाँ नेतृत्व र सरकारप्रति आशा व्यक्त गरेका छन्। अहिलेका प्रधानमन्त्री तुलनात्मक रूपमा युवा हुनुहुन्छ र सरकारमा रहेका धेरै मन्त्री पनि युवा हुनुहुन्छ। त्यसैले केही परिवर्तनको आभास आम नेपालीले गरेका छन्।
विगतका सरकार र व्यवस्थाले सिर्जना गरेको निराशालाई एकैपटक अन्त्य गरेर नयाँ प्रणाली स्थापना गर्न अहिलेको सरकारसँग आवश्यक कानुनी तथा प्रक्रियागत आधार पर्याप्त नहुन सक्छ। त्यसैले अहिले नै निराश भइहाल्ने अवस्था छैन। हामीले आशा राख्नुपर्छ। तर पूर्वाधार, उद्योग र रोजगारी सिर्जनाका क्षेत्रमा अब साँच्चिकै क्रमभङ्ग गर्नुपर्छ।
तपाईं शिक्षा क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ। शिक्षालाई रोजगारीसँग कसरी जोड्न सकिन्छ? नेपालमै पढेर, सीप सिकेर स्वदेशमै रोजगारी वा स्वरोजगार गर्न सक्ने शिक्षा कसरी दिन सकिन्छ?
शिक्षा प्रणालीलाई मुख्य रूपमा दुई पक्षबाट हेर्नुपर्छ। शिक्षा विद्यालयबाट मात्रै सुरु हुँदैन। बच्चाले पहिलो शिक्षा घरबाट पाउँछ। आमाबाट सुरु हुन्छ, परिवार हुँदै समाज र त्यसपछि विद्यालयसम्म पुग्छ।
विद्यालयको मुख्य भूमिका घर र समाजबाट प्राप्त ज्ञानलाई व्यवस्थित, वैज्ञानिक र व्यावसायिक बनाउनु हो। विद्यालयले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने र प्रमाणपत्र प्राप्त गर्ने बनाउनु हुँदैन। उसलाई जीवनमा उपयोगी हुने सीप दिनुपर्छ। आफूले सिकेको ज्ञान प्रयोग गरेर काम गर्न, व्यवसाय गर्न र आम्दानी गर्न सक्ने बनाउनुपर्छ।
हाम्रो शिक्षा प्रणालीको कमजोरी यही हो—विद्यार्थीलाई पढायौँ, प्रमाणपत्र दियौँ, तर व्यावसायिक रूपमा सक्षम बनाउन सकेनौँ। शिक्षा सीपमूलक र कमाउन सक्ने बनाउने खालको हुनुपर्छ। विद्यार्थीलाई ‘पढेपछि जागिर खोज्ने’ होइन, ‘पढेपछि आफैँ अवसर सिर्जना गर्न सक्ने’ बनाउनुपर्छ। त्यो हाम्रोमा भएन ।
हाम्रो पाठ्यक्रम नै देश सुहाउँदो छैन पनि भनिन्छ नि?
पाठ्यक्रम पूरै ठीक छैन भन्नु हुँदैन। क्रमागत सुधार भइरहेको छ, तर गति निकै सुस्त छ। मैले स्वयम्भूको अन्नपूर्ण चोकमा ‘सुनाखरी पाठशाला’ सञ्चालन गरेको छु। विद्यालय आठ कक्षासम्म छ। साना नानीबाबुलाई सिकाउँदै गर्दा अभिभावकलाई पनि भन्ने गर्छु—बच्चालाई पुस्तककेन्द्रित शिक्षा मात्र किन दिने? ज्ञानकेन्द्रित र प्रयोगात्मक शिक्षा दिनुपर्छ। किताबको भारी बोकाएर विद्यालय पठाउने र गृहकार्य पनि अभिभावकले गरिदिने, अनि बच्चाले ‘ए’ वा ‘बी’ ल्यायो भनेर खुसी हुने होइन। शिक्षाको आधारमा मेरो बच्चाले के गरी खान सक्छ भन्ने सोच्नुपर्छ। उसलाई स्वरोजगार बन्न सक्ने शिक्षा दिनुपर्छ।
स्कुल पढ्दादेखि नै १२ कक्षा पास गरेपछि विदेश जाने सोच हुन्छ। यसलाई कसरी रोक्ने?
रोक्न हुँदैन, रोक्न सकिँदैन। अहिले खुला विश्व हो। जहाँ गएर प्रगति हुन्छ, त्यहाँ जान दिनुपर्छ। तर विदेशमा पढिसकेपछि ज्ञान र सीप स्वदेशमा लगानी गर्ने वातावरण बनाउनुपर्छ, ताकि उनीहरू फर्किन चाहून्।छोराछोरी बाहिर पढेर आए भने उनीहरूले कुन विषयमा दक्षता हासिल गरेका छन्, त्यो पहिचान गरेर सरकारले रोजगारीको अवसर दिनुपर्छ।विद्यार्थी पलायनका दुई प्रमुख कारण छन्। एउटा, आफूले गरेको कामको पर्याप्त आत्मसम्मान नपाउनु र अर्को, उचित तलबसहितको रोजगारी नहुनु। यी समस्या समाधान गर्न सके बिदेश गएका स्वदेश फर्कनछन ।यी सबै कुराको आधार आर्थिक समृद्धि नै हो। देश आर्थिक रूपमा समृद्ध भयो भने शिक्षा, रोजगारी र अवसरका धेरै समस्या समाधान गर्न सकिन्छ।
तपाईं व्यवसायमा हुनुहुन्छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको ब्रान्ड कसरी स्थापित गर्न सकिन्छ?
कफीकै उदाहरणबाट कुरा गरौँ। नेपालमा कफी उत्पादनको इतिहास धेरै लामो छैन। तर कफीलाई व्यावसायिक रूपमा विकास गर्ने हो भने आवश्यक प्राविधिक जनशक्ति र ज्ञान पनि विकास गर्नुपर्छ। अहिले विश्वविद्यालयमा कफीसम्बन्धी विषय व्यवस्थित रूपमा पढाइ हुँदैन।
कफी र चिया दुवै हाम्रो सम्भावनाका क्षेत्र हुन्। हामीले पहिले चियामा काम सुरु गर्यौँ, अहिले कफीतर्फ पनि विस्तार भइरहेका छौँ। तर यी क्षेत्रसम्बन्धी प्राविधिक शिक्षा विद्यालय र कलेज तहमा पर्याप्त छैन।
कफी विकास बोर्ड पनि छ। तर मेरो अनुभवमा बोर्ड अझै धेरै पछाडि छ। कफी उत्पादनमा अगाडि बढिरहेका देशमा गएर प्रविधि र सीप सिक्ने, त्यसलाई नेपालमा ल्याउने र किसानसम्म पुर्याउने काम पर्याप्त रूपमा हुन सकेको छैन।
नेपालमा कफी खेती भइरहेको छ, तर प्रश्न के हो भने व्यावसायिक कफी कहाँ छ? व्यावसायिक उत्पादनका लागि सरकारले पूर्वाधार, प्रोत्साहन र अनुदान दिनुपर्छ। नीति र कार्यक्रम कागजमा छन्, तर व्यवहारमा प्रभाव पर्याप्त देखिँदैन।
नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने हो भने आफ्नै ब्रान्ड र ट्रेडमार्क निर्माण गर्नुपर्छ। साथै कफी र चियाको उत्पादनसँगै प्रशोधन उद्योग स्थापना गर्नुपर्छ। कच्चा उत्पादन बेच्ने होइन, प्रशोधन गरेर मूल्य अभिवृद्धि गरी निर्यात गर्नुपर्छ। उत्पादनसँगै प्रशोधन उद्योगमा पनि राज्यले ध्यान दिनुपर्छ।
युवाहरू व्यवसाय गर्न चाहन्छन्। तपाईंको विचारमा सरकारले युवाका लागि के गर्नुपर्छ?
व्यवसाय गर्नका लागि सबैभन्दा पहिले आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ। त्यसपछि भिजन भएको व्यक्तिलाई सरकारले सहयोग गर्नुपर्छ। व्यवसाय गर्न पैसा मात्र भएर पुग्दैन। स्पष्ट योजना र भिजन भएको युवालाई सरकारले सहुलियतपूर्ण ऋण, ब्याज अनुदान र आवश्यक वित्तीय सुविधा उपलब्ध गराउनुपर्छ।
हाम्रो देश आफैँमा सुन्दर र सम्भावनायुक्त छ। हिमाल, पहाड र तराई तीनवटै भौगोलिक क्षेत्र छन्। प्राकृतिक स्रोत, वातावरण र जनशक्ति पनि छ।
हाम्रो कमजोरी समुद्र छैन भन्ने हो। तर समुद्र नहुँदैमा विकास सम्भव हुँदैन भन्ने होइन। मैले युरोपको स्विट्जरल्यान्डको मोडलको अध्ययन गरेको छु। स्विट्जरल्यान्डसँग पनि समुद्र छैन। उसले आफ्नो भौगोलिक सीमिततालाई कमजोरीका रूपमा मात्र हेरेन, प्रविधि र सीपलाई प्राथमिकता दियो। घडी उत्पादनजस्ता क्षेत्रमा आफ्नो पहिचान बनाउँदै विश्व बजारमा स्थान बनायो।
नेपालले पनि कमजोरी गनेर बस्ने होइन, प्रविधि र सीपमा अगाडि बढ्नुपर्छ। जडीबुटी, कृषि, जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा ठूलो सम्भावना छ। यी क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउन सकियो भने आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ।
तपाईं व्यवसायसँगै समाजसेवामा पनि सक्रिय हुनुहुन्छ। समाजसेवाका क्षेत्रमा के–कस्ता काम गरिरहनुभएको छ?
मैले समाजसेवामा ठूलो योगदान गरेको छु भन्ने दाबी गर्दिनँ। आफूले देखेको, जानेको र सकेको आधारमा समाजलाई केही सहयोग गर्ने प्रयास गर्छु।
समाजसेवा गर्न सबैभन्दा पहिले दयालु र संवेदनशील मन चाहिन्छ। समाजमा कोही व्यक्ति कठिन अवस्थामा छ भने आफूले सक्ने सहयोग गरेर अगाडि बढ्न मद्दत गर्नु नै समाजसेवा हो। आफूले जुन क्षेत्रबाट योगदान गर्न सक्छौँ, त्यही क्षेत्रबाट इमानदारीपूर्वक समाजलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो।
एउटा युवा ‘म यही देशमा केही गर्छु’ भनेर प्रयास गरिरहेको छ, तर उसले चाहेअनुसार अवसर पाउन सकेको छैन। त्यस्तो युवालाई तपाईं के भन्न चाहनुहुन्छ?
यदि तपाईंसँग आफ्नो भविष्यको स्पष्ट दृष्टिकोण र लक्ष्य छ भने संघर्ष गर्नुपर्छ। जहाँ गए पनि संघर्ष गर्नैपर्छ। मैले अस्ट्रेलिया, न्युजिल्यान्ड, चीन, रुसलगायत विभिन्न देशमा मानिसहरूले गरेको संघर्ष देखेको छु। जुनसुकै देशमा गए पनि जीवन सहज हुँदैन।
त्यसैले युवा साथीहरूलाई म भन्न चाहन्छु—विदेशमा गएर जति संघर्ष गर्नुहुन्छ, त्यति नै संघर्ष नेपालमै बसेर गरौँ। सरकारलाई पनि दबाब दिऔँ, घच्घच्याऔँ र व्यवसाय तथा रोजगारीका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गरौँ।
यदि हामी मिलेर नेपालमै संघर्ष गर्यौँ भने यहीँ पनि समृद्ध हुन सकिन्छ। व्यक्ति समृद्ध भएपछि परिवार समृद्ध हुन्छ, परिवार समृद्ध भएपछि समाज र समाज समृद्ध भएपछि देश समृद्ध हुन्छ। त्यसैले समृद्धिको बाटो रोज्ने हो भने आफ्नै देशबाट सुरुवात गर्नुपर्छ।
अहिले युवामा निराशा निकै बढेको देखिन्छ। यसको कारण के हो?
युवामा निराशा पैदा हुनुका पछाडि धेरै कारण छन्। हाम्रो आर्थिक अवस्था कमजोर छ। आम्दानी र जीवनयापनबीच ठूलो अन्तर छ। सामान्य जीवन चलाउनसमेत धेरै संघर्ष गर्नुपर्ने अवस्था छ।
अर्कोतर्फ, प्रविधिले संसारभरको जीवनशैली हाम्रो मोबाइलको स्क्रिनमा ल्याइदिएको छ। विकसित देशका मानिसहरूको जीवनशैली देखेर युवाले आफ्नो जीवनसँग तुलना गर्छन्। त्यसले ठूलो अपेक्षा पैदा गर्छ। तर ती अपेक्षा पूरा गर्ने आर्थिक र सामाजिक आधार नेपालमा पर्याप्त छैन। अपेक्षा धेरै हुनु र त्यसअनुसार अवसर नपाउनु पनि निराशाको एउटा कारण हो।
तर निराशालाई केवल व्यक्तिको समस्या भनेर हेर्नु हुँदैन। परिवार, समाज, समुदाय र राज्यको पनि यसमा भूमिका हुन्छ। गणेश नेपाली प्रेमप्रसाद आचार्यको घटनालाई उदाहरणका रूपमा लिने हो भने त्यो अत्यन्तै दुःखद घटना थियो। उहाँले लिनुभएको निर्णय व्यक्तिगत भए पनि त्यस्तो अवस्थामा पुर्याउने सामाजिक र आर्थिक परिस्थितिबारे पनि हामीले सोच्नुपर्छ।
मानिसले कठिन अवस्थामा परिवारको माया, समाजको साथ, नैतिक मूल्य र आफ्नो जिम्मेवारीको अनुभूति पाउने वातावरण निर्माण गर्नुपर्छ। युवाले पनि आफ्नो समस्या एक्लै बोकेर बस्नु हुँदैन। परिवार, साथीभाइ वा विश्वासिलो व्यक्तिसँग खुलेर समस्या साझा गर्नुपर्छ। हामीले युवालाई केवल ‘संघर्ष गर’ भन्नुभन्दा पनि संघर्ष गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।
अर्थात् निरुत्साहित गर्नेभन्दा उत्साहित र प्रोत्साहित गर्ने वातावरण बनाउनुपर्छ?
अवश्य। एउटा युवाले जीवन गुमाउनु भनेको त्यो व्यक्तिको मात्र पीडा होइन, परिवार र समाजकै पीडा हो। त्यसैले यसको सुरुवात घरपरिवारबाटै गर्नुपर्छ।
हामीले बालबालिकालाई नैतिक मूल्य, मानवीय संवेदना, संस्कार, सकारात्मक सोच र परिवारप्रतिको प्रेम सिकाउनुपर्छ। घरबाटै प्रेमपूर्ण र सहयोगी वातावरण निर्माण गर्नुपर्छ।समाजले पनि कुनै युवा केही गर्न खोजिरहेको छ भने उसलाई प्रोत्साहन, हौसला र आवश्यक मार्गदर्शन दिनुपर्छ। हाम्रो समाजमा स्वस्थ प्रतिस्पर्धाभन्दा ईष्र्या गर्ने प्रवृत्ति बढी देखिन्छ। कसैले राम्रो काम गर्न खोज्यो भने प्रोत्साहन गर्नुको सट्टा खुट्टा तान्ने प्रवृत्ति देखिन्छ। यो प्रवृत्ति परिवर्तन गर्न हामी सबैले प्रयास गर्नुपर्छ।
जाँदाजाँदै हाम्रा दर्शकहरूलाई थप केही भन्न चाहनुहुन्छ?
हामी सबै नेपाली हौँ। हामीले आफ्नो देशप्रति जिम्मेवार हुनुपर्छ। नेपाल आफैँमा सुन्दर र सम्भावनाले भरिएको देश हो। त्यसैले तपाईं–हामी मिलेर नेपालमै बसौँ, नेपालमै केही गरौँ र यही देशलाई समृद्ध बनाउने प्रयास गरौँ।
मेरो आग्रह छ—हाम्रा युवालाई नेपालमै बस्न सक्ने वातावरण र आवश्यक पूर्वाधार तयार गरिदिनुहोस्। विशेषगरी कर्मचारी वर्गका साथीहरूलाई आग्रह गर्न चाहन्छुयुवासँग बोल्ने भाषा, गर्ने व्यवहार र सेवा दिने शैली परिवर्तन गरिदिनुहोस्।
नेपाल छाडेर विदेश जाने निर्णय गरिसकेको युवाले पनि यहाँको व्यवहार देखेर ‘म त यहीँ बस्नुपर्छ’ भन्ने सोच बनाउने वातावरण सिर्जना गर्नुपर्छ। ‘कर्मचारी अंकलले राम्रो व्यवहार गर्नुभयो, प्रहरी अंकलले सहयोग गर्नुभयो, राज्यले साथ दियो, त्यसैले म यहीँ बसेर केही गर्छु’ भन्ने भावना युवामा आउनुपर्छ।
विदेश गएपछि अन्ततः अर्को देशमा पनि संघर्ष गर्नुपर्ने हुन्छ। त्यहाँ दोस्रो दर्जाको नागरिकका रूपमा जीवन बिताउनुपर्ने अवस्था पनि आउन सक्छ। विदेश गएका नेपाली युवाले ठूलो संघर्ष गरिरहेका छन्। यदि त्यही संघर्षको केही अंश नेपालमै बसेर गर्ने वातावरण बनाउन सकियो भने तपाईं–हामी मिलेर नेपाली समाज र देशलाई परिवर्तन गर्न सक्छौँ।


















