बीपी सबैका साझा हुन्, कुनै घरभित्र कैद गर्न हुँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता ऐतिहासिक नेताहरूलाई कुनै परिवार वा सीमित समूहको घेराभित्र राख्न नहुने बताएका छन्। आज धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले कांग्रेसभित्र राजनीतिक आवश्यकता अनुसार बीपीका विचारको व्याख्या गर्ने र आवश्यक पर्दा मात्रै उनको नाम लिने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनका अनुसार आफ्ना राजनीतिक निर्णय आफैँ स्पष्ट रूपमा राख्न नसक्ने नेताहरूले ‘राष्ट्रिय मेलमिलाप’ जस्ता बीपीका अवधारणालाई राजनीतिक ढालका रूपमा प्रयोग गर्ने गरेका छन्। यस्तो प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने थापाको भनाइ छ। थापाले बीपी र गणेशमानलाई ‘निजीकरण’ गर्न नहुने भन्दै उनीहरू सम्पूर्ण लोकतान्त्रिक आन्दोलनका साझा सम्पत्ति भएको धारणा राखे। बीपीका विचारबारे अहिले विभिन्न किसिमका व्याख्या भइरहेको भन्दै उनले पुरानो पुस्ताका अभियन्ताहरूले नयाँ पुस्तालाई त्यसबेलाको वास्तविकता बुझाउनुपर्ने बताए।

नयाँ पुस्तासँग बीपीसँग प्रत्यक्ष संवादको अनुभव नभएकाले ‘बीपीले यसो भन्नुभएको थियो’ भन्ने आधारमा गलत व्याख्यासमेत पत्याउनुपर्ने अवस्था रहेको उनले बताए। थापाले बीपीको राजनीतिक जीवन निरन्तर विकसित भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता स्थिर रहेको उल्लेख गरे। साथै, बीपीका आर्थिक विकास, उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिसम्बन्धी विचारलाई वर्तमान विकास बहस तथा कृत्रिम बुद्धिमत्ताको सन्दर्भमा समेत अध्ययन गर्नुपर्नेमा उनले जोड दिए।