‘जनतालाई ग्यास दिन नसक्ने सरकारले मन्त्रीलाई हेलिकोप्टर यात्रा गराउने यो कस्तो सुशासन हो ?’

नेपाली कांग्रेसकी प्रमुख सचेत बासना थापाले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको विषयमा विरोध जनाएकी छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै थापाले सरकारको असमान प्रवृत्तिको विरोध जनाएकी हुन् ।

‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ । मन्त्री ३०/३५ लाख खर्च गरे ल्याउन सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन । बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई एक सिलिन्डर ग्याससमेत राज्यले दिन सक्दैन, यो कस्तो सुशान हो ?’

उनले अगाडि भनिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिको जीवन पनि उत्तिकै मूल्यवान छ । प्रधानमन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने के यो समानता राज्य हो ? के यही हो जनताको सरकार ?’