सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले जेन-जी आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा आगामी २३ भदौमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खत्रीले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले गरेको बलिदानको स्मरण गर्दै सरकारले त्यस दिन विशेष सम्बोधन गर्नुपर्ने बताइन् ।
‘देशले जान्नुपर्छ, कति माग पूरा भए, कति बाँकी छन् र भ्रष्टाचारीलाई कारबाही हुन्छ कि हुँदैन ? सरकारलाई राम्रो काम गर्न कसले रोकिरहेको छ र शहीद परिवार एवं घाइतेहरूले कहिले न्याय पाउँछन्,’ उनले भनिन् ।
वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेकाले उक्त दिन प्रधानमन्त्रीले देशव्यापी रूपमा शहीदहरूको सम्मान गर्दै जनतासामु स्पष्ट जवाफ दिनुपर्ने उनले बताइन् । जेन–जी आन्दोलनका क्रममा २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी खतिडालाई रास्वपाले सांसद बनाएको थियो ।


















