पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन: सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवर क्षेत्रीले पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन नमिल्ने बताएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुँवरले बारामा ३ वर्षीया बालिकामाथि भएको बलात्कार तथा हत्या घटनाको तीव्र भर्त्सना गर्दै महिला हिंसा र बलात्कारका दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेकी छन् ।

उनले अपराध नियन्त्रणका लागि विद्यमान कानुनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिइन्।‘सबै अपराधको प्रकृति एउटै हुँदैन, एउटा पाकेटमार र एउटा बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन,प्रमाणित बलात्कार र जघन्य महिला हिंसाका अपराधीलाई कानुनको सजायको डर यति बलियो बनाइयोस् कि त्यसको डरले कसैले पनि यस्तो अपराध गर्ने आँट नगरोस्।’ सांसद कुँवरले भनिन्।