काठमाडौं, भदौ १३।देश विपद्को पीडामा रहेका बेला उत्सवभन्दा मानवीय सेवालाई प्राथमिकता दिँदै माडी चितवन–काठमाडौं सम्पर्क समाजले आफ्नो पूर्वनिर्धारित तीज कार्यक्रम स्थगित गरेको छ। तीजको रमझमलाई थाती राख्दै समाजले विपद् प्रभावित तथा घाइते–बिरामीको सहयोगका लागि राहत तथा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
शनिबार नयाँ बानेश्वरस्थित शान्तिनगर गेटमा रहेको Namaste A To Z Complex मा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शंकर पाण्डे ‘मुक्ति’ले स्वयं रक्तदान गरी कार्यक्रमको सुरुवात गर्नुभयो। कार्यक्रममा करिब ११० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा गरिएको रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। विपद्को समयमा घाइते तथा बिरामीका लागि रगतको अभाव हुन नदिन गरिएको यो अभियानले सामाजिक उत्तरदायित्वको महत्वपूर्ण सन्देश दिएको छ।
रक्तदानसँगै विपद् प्रभावितलाई राहत सहयोग जुटाउन कार्यक्रमस्थलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR Code समेत राखिएको थियो। सहभागीहरूले उक्त QR Code मार्फत स्वेच्छिक रूपमा सहयोग रकम सिधै सरकारी खातामा जम्मा गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सवका रूपमा मनाइने तीज कार्यक्रमभन्दा पीडितको दुःखमा साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताउनुभयो।
“विपद्मा एकता, भोटेकोशी बाढी पीडितको सेवा हाम्रो प्रतिबद्धता” भन्ने भावनाका साथ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।
समाजले विपद्को समयमा आफ्नो खुसीलाई केही समय थाती राखेर पीडितको सेवामा जुट्नु नै सच्चा सामाजिक उत्तरदायित्व भएको सन्देश दिएको छ।
माडी चितवन–काठमाडौं सम्पर्क समाजको आयोजना तथा वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो।
छोटो समयमै आयोजना गरिएको कार्यक्रममा समाजका सल्लाहकार समिति, कार्यसमिति, स्वयंसेवक, रक्तदाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उत्साह र सहयोगका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको समाजले जनाएको छ।
समाजले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, राहत सहयोग गर्ने व्यक्ति तथा संघ–संस्था, स्वयंसेवक, प्राविधिक टोली, सञ्चारकर्मी तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विपद्को समयमा सामाजिक एकता, सहकार्य र मानवीय सेवाको भावना अझ बलियो बनाउन महत्वपूर्ण योगदान दिएको छ।
तीजको उत्सव स्थगित गरेर पीडितको सेवामा जुटेको माडी चितवन–काठमाडौं सम्पर्क समाजको यो पहलले संकटको समयमा उत्सवभन्दा सेवा ठूलो हुन्छ भन्ने मानवीय सन्देश दिएको छ।


















