प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

प्रधानमन्त्री बालेन शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार बिहान १० बजे भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गरेका हुन्। प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।उनले बाढी प्रभावितको उद्धार तथा राहतमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहित ड्रोन अपरेटरको टोली,अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे।

प्रधानमन्त्री शाहले बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी पनि दिए। नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा खोज,उद्धार,राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए। वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेका थिए।