किएभमा चौबीसै घण्टा रुसी आक्रमण

युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ । यसअघि मुख्यत: राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएभवासीको दैनिकी चौबीसै घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ ।

रुसले तीव्र गतिमा उड्ने जेट–सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो । हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब सहरको दैनिक जीवनकै हिस्सा बनेका छन् । साइरन बज्दा मल, बैंक, विद्यालय तथा अन्य व्यवसायका काम रोक्नुपर्ने र सर्वसाधारण सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ ।

आक्रमणका कारण यातायातसमेत प्रभावित भएको छ । हवाई चेतावनीका कारण रेलहरू बाटोमै रोकिने र यात्रुहरू सामान बोकेर पैदल हिँड्नुपर्ने अवस्था आएको छ । ड्रोनका कारण जीपीएस सङ्केत अवरुद्ध हुँदा ट्याक्सी सेवासमेत प्रभावित भएको छ । भोलोदिमर बोभ्सुनोभ्स्कीले करिब चार वर्षीया छोरीका लागि कपडा किन्न मल पुग्दा २० मिनेटमै हवाई आक्रमणको चेतावनी बजेको र धुवाँ देखिएपछि खाली हात फर्किनुपरेको बताए। “विगत सात दिनमा धेरै परिवर्तन भएको छ”, उनले भने। उनी परिवारलाई केही समय सुरक्षित र शान्त वातावरण दिन किएभ छाड्नेबारे समेत सोचिरहेको छ ।

युद्धले व्यक्तिगत जीवनका महत्त्वपूर्ण क्षणसमेत प्रभावित पारेको छ । इरिना बारानोभा र इभहेन मित्सिकले हवाई आक्रमणकै बीच विवाह गरेको थियो । मित्सिकले यस्तो अवस्थामा जीवन र परिवारको महत्त्व अझ बढी महसुस हुने बताए । उनले भने, “बिहान उठेपछि त्यस दिनको अधिकतम उपयोग गर्नुपर्छ, किनभने अर्को मौका नहुन सक्छ ।”

टेट्याना सेभचेन्कोले ध्यानले लगातारको साइरन र विस्फोटबीच आफूलाई शान्त रहन मद्दत गरेको बताए । तर हवाई आक्रमणकै कारण सरकारी कार्यालयमा आफ्नो पालो गुमाएर लामो प्रक्रिया दोहोर्‍याउनुपरेको उनको अनुभव छ । लगातारको आक्रमणले केही बासिन्दालाई सहर छाड्ने सोच्न बाध्य बनाएको छ । आइटी कर्मचारी इभान दात्सिभको अपार्टमेन्टमा रुसी ड्रोन ठोक्किँदा क्षति पुगेपछि उनले शान्त र सुरक्षित अर्को सहरमा बसाइँ सर्ने विचार गरिरहेको छ । बारम्बार साइरन बज्ने भएकाले आश्रयस्थलमा जाने र फर्किने समयसमेत नपुग्ने उनले बताए ।

बोभ्सुनोभ्स्कीकी छोरी जाने गरेको बालविकास केन्द्रमा पनि हवाई आक्रमणको चेतावनी बज्दा बालबालिकालाई आश्रयस्थलमा लैजानुपर्छ । “त्यहाँ कुनै स्थिरता छैन”, उनले भने । रातमा सीमित रहेको रुसी हवाई आक्रमण दिनको समयमा समेत फैलिँदा किएभवासीले युद्धको त्राससँगै काम, यात्रा, शिक्षा र पारिवारिक जीवनलाई निरन्तरता दिन सङ्घर्ष गरिरहेका छन् ।