भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवामा हैजा फैलिन सक्ने जोखिम बढेपछि रोकथामका लागि २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्याइएको हो। बाढीका कारण खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यही अवस्थालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा हैजाको रोकथाम, रोगको शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा लगायतका पानीजन्य रोगको जोखिम कम गर्न आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप र औषधि पठाउने, रोगको निगरानी बढाउने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको छ।
त्यस्तै, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा दूषित पानी तथा अस्वच्छ वातावरणका कारण संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य निगरानी थप कडा बनाइएको अधिकारीहरूको भनाइ छ। स्वास्थ्य अधिकारीहरूले सम्भावित संक्रमणलाई सुरुवाती चरणमै पहिचान गरी उपचारमा ल्याउन सके हैजा तथा अन्य पानीजन्य रोगको जोखिम नियन्त्रण गर्न सकिने बताएका छन्।


















