कारोबारसँगै बढ्यो सेयर बजार

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १८.०७ अंक बढेको छ । आजको कारोबारपछि नेप्से २५६० अंकमा कायम भएको छ । योसहित लगातार चौथो दिन सेयर बजार हरियो अंकमा बन्द रह्यो । अघिल्लो कारोबार दिन ४.६६ अंक बढेको थियो । बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५४२ देखि अधिकतम २५६५ अंकको बीचमा नेप्से रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८३ करोडको भयो ।

१९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ४ को स्थिर रह्यो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.०५ प्रतिशत बढ्यो । भदौ १० गतेको बाढीपछि बजारमा यो समूहमा ठूलो असर परेको थियो ।

विगतमा मूल्य केही झरिसकेकाले यो समूहमा सोमबार आकर्षण देखियो । त्यस्तै बैंकिङ १.१५, विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५१, लगानी ०.०४, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.६१ र अन्य समूह ०.५० प्रतिशत बढे । व्यापार ०.०९ तथा फाइनान्स ०.४३ प्रतिशत घटे ।

आज पियोर इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै गणपति लघुवित्तको ७.३५, श्रीनगर एग्रिटेकको ६.२६, कालिका लघुवित्तको ६.२२, सागर डिस्टिलरीको ६.२०, रावा इनर्जीको ५.३२, शिखर इन्स्योरेन्सको ५.२४, एसवाई प्यानलको ४.९२ प्रतिशत मूल्य बढ्यो ।

इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएको छ । अपर लोहोरेखोलाको १३.३३, आशा लघुवित्तको ७.३९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, गरिमा विकास बैंक, सोलु हाइड्रोपावर, एसवाई प्यानल, सुपरमादी, शिवम् सिमेन्ट, रिडी पावर, नबिल बैंक र सिद्धार्थ बैंक छन् ।