रूपन्देहीमा १२ हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले भविष्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सर रोकथामको लागि विगत तीन वर्ष देखि किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सञ्चालन गर्दै आएको छ।
सोही अनुरूप यस वर्ष जिल्लाका सबै पालिकामा रहेका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालयभन्दा बाहिर रहेका १० वर्षका गरी १२ हजार ९० जना किशोरीलाई खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जानकारी दिइन्। यी मध्ये ११ हजार ७०९ जना कक्षा ६ मा पढ्ने किशोरी छन् भने ३८१ जना विद्यालय भन्दा बाहिर रहेका १० वर्षका किशोरी छन्।
रूपन्देहीमा गत वर्ष १२ हजार ४१९ जनालाई एचपिभी खोप लगाइएको थियो। त्यो भन्दा अघिल्लो वर्ष २०८१ सालमा ५८ हजार ९ सय किशोरीलाई एचपिभी खोप लगाएको थियो।
जिल्लामा एचपिभी खोप कार्यक्रमलाई प्रभावकारी बनाउन र कुनै पनि किशोरी खोप लगाउनबाट नछुटुन् भन्ने उद्देश्यले जिल्ला खोप समन्वय समितिले सबै पालिकाहरूको समन्वयमा तयारी समेत गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख थापाले जानकारी दिइन्।
दुई चरणमा सञ्चालन गरिने खोप अभियान अन्तर्गत पहिलो चरणमा असोज ५ गतेदेखि ८ गतेसम्म जिल्लाका ११ वटा पालिकामा र बाँकी रहेका ५ वटा पालिकामा असोज १२ गतेदेखि १५ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरिने छ।
थापाका अनुसार खोप अभियानका लागि जिल्लामा ४८३ वटा विद्यालय र १५० वटा स्वास्थ्य संस्था गरी ६३३ वटा खोप केन्द्र तयार गरिएको छ। यो अभियानका लागि टोल टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत परिचालन गर्ने गरी पालिकाहरूसँग समन्वय भइरहेको थापाले बताइन्।
रूपन्देहीमा सबभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ हजार २१२ जना र तिलोत्तमा नगरपालिकामा १ हजार ५६३ जनालाई एचपिभी खोप लगाइने छ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ हजार १२४, देवदहमा ९६३, सैनामैनामा ९१८, सिद्धार्थनगरमा ८१६, मायादेवीमा ६२७, गैंडहवामा ६०१, कोटहीमाइमा ५३५, कञ्चनमा ४७०, रोहिणीमा ४६७, सियारीमा ४६०, मर्चवारीमा ४०३, सम्मरीमाईमा ३६५, शुद्धोधनमा ३०९ र ओमसतियामा २५७ जना किशोरी रहेका छन्।
खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र आवश्यकताको आधारमा स्वास्थ्यकर्मी थप गर्न सकिने थापाले बताइन्। चिकित्सकहरूका अनुसार महिलाहरूको पाठेघरको मुखको क्यान्सर विभिन्न १२ वटा एचपिभी भाइरसले लाग्ने र त्यसमध्ये दुई प्रजातिका भाइरसबाट क्यान्सर लाग्ने ८० प्रतिशत जोखिम रहन्छ।
महिलाहरूलाई हुने पाठेघरको क्यान्सर संसारका सबै देशहरूमा नै जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा देखा परेको छ। नेपाली महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण रहेको छ। महिला र पुरूष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ।
विश्वभर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने यही अवस्थाले बढ्दै गए सन् २०३० सम्म एक वर्षमा ७ लाख पुग्ने डब्लुएचओले अनुमान गरेको छ। त्यस्तै, हरेक वर्ष ३ लाख ११ हजार महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ।
नेपालमा पनि हरेक वर्ष दुई हजार २ सय हाराहारी महिलालाई पाठेघरको क्यान्सर हुने गरेको छ भने एक हजार ३ सय भन्दा बढी महिलाको सोही क्यान्सरका कारण मृत्यु हुने गरेको छ।
पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमा भाइरस ‘एचपिभी’ का कारण हुने गर्छ। महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपिभी नामक भाइरसविरूद्ध उक्त खोप दिन लागिएको हो।


















