राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूप्रति सम्मान व्यक्त गर्दै राज्यले पीडित परिवार र घाइतेको उचित हेरचाह, उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी लिनुपर्ने माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा रास्वपाले भ्रष्टाचार, दलीय भागबण्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध नेपाली युवापुस्ता शान्तिपूर्ण तर दृढ संकल्पका साथ सडकमा उत्रिएको उल्लेख गरेको छ ।
रास्वपाले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनका क्रममा ज्यान गुमाएका अमर प्रहरीहरूप्रति पनि सम्मान व्यक्त गरेको छ । त्यस्तै, आन्दोलनका क्रममा अंगभंग भएका, घाइते भएका तथा मानसिक एवं शारीरिक चोट भोगेकाहरूको सम्मान गर्दै राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्ने पार्टीको धारणा छ ।
रास्वपाले शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको युवा पुस्ताको आवाजलाई परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट ‘अस्वीकृति पत्र’ का रूपमा व्याख्या गर्दै परिवर्तनको पक्षमा नागरिकको आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।




















