रविको प्रश्न– चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ?

रास्वपा सभापति रवि लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनको भनाइ छ ।

‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?,’ उनले भनेका छन् । नागरिकको त्यो आक्रोशलाई प्रहारको रुपमा नबुझ्न पनि उनले आग्रह गरे ।

‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ लामिछानेले भने ।

उनले थप भनेका छन्–

यस्तो अकल्पनीय विध्वंशमा सर्वस्व गुमाएका र मृत्युसँग पैंठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वभाविक हो । आफन्तको स्वास खोजिरहेका ती आत्तिएका आँखालाई यो प्राकृतिक विध्वंशको आयातन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन । सरकारले देशमा उपलब्ध सम्पूर्ण स्रोतसधान परिचालन गरेको छ कि छैन ? हाम्रा सेना र प्रहरी जवाफ हत्केलामा राखेर मृत्यु सुरुङको कति गहिराइसम्म पुगेका छन् भन्ने तथ्यले उनीहरूलाई सान्त्वना दिँदैनन् । उनीहरूलाई त केवल एउटा कुरा चाहिएको छ, मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुगोस्, उद्धार गरिदियोस् ।

यो आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार हो ।

सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?

नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो ।