नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिबाट देश गम्भीर संकटमा परेकाले अहिले सबै राजनीतिक शक्ति र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मुलुक राष्ट्रिय शोकको अवस्थामा रहेको बताए। उनले विपद्को समयमा मधेशले पहाड र पहाडले मधेशलाई सहयोग गर्ने नेपाली परम्परा सकारात्मक रहेको बताए।
हजारौँ नागरिक बेपत्ता भएको उल्लेख गर्दै उनले यस्तो संकटबाट बाहिर निस्कन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए। जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका हिमाल तथा हिमाली क्षेत्र थप जोखिममा पर्दै गएको विषय आफूले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको पनि प्रचण्डले बताए। निर्वाचनपछि देश, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समृद्धि र विकासप्रति आफ्नो जिम्मेवारी थप बढेको उनको भनाइ थियो।


















